१ जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री

नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीलगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्।

गैरआवासीय नेपाली संघ इटलीद्वारा मंगलबार साँझ रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कडा कदम चालेको दाबी गरेका हुन्।

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो। 

जनताले लामो समयदेखि सास्ती बेहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए। “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ,” प्रधानमन्त्री दाहालले भने, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीत र संगठित अपराधका रूपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको उनको भनाइ छ। “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो,” उनले भने। 

प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम शुरू भएको दाबी गरे। नेपालमा थुप्रिएको बेथिति र विसंगतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताए। 

पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा उनको जोड छ। “हामीले नेपालमा राजनीतिक परिवर्तन राजनीतिका लागि मात्र ल्याएको होइन। राष्ट्र र जनताको वृहत्तर हित हुने गरी पविर्तन ल्याउने भनेका हौँ,” उनले भने, “यदि जनताको जीवनस्तरमा परिवर्तन हुँदैन भने यसको दिगोपन र औचित्य पनि इतिहासमा सिद्ध हुँदैन।”

नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो। “कानूनी तथा संरचनात्मक जटिलतालाई हल गरेर यी विषयमा सरलीकरण गरिन्छ,” उनले भने।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनले आयोजना गरेको कार्यक्रमको दौरानमा इटालीका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग अनौपचारिक रूपमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिँदै उनले आफूले औपचारिक कार्यक्रममा दिएको वक्तव्यपछिको प्रतिक्रिया पनि निकै सकारात्मक भएको पाएको बताए।

“अब इटलीसँग नेपालको सम्बन्ध अझ गहन हुने र अगाडि बढ्ने विश्वास लिएको छु,” उनले भने, “तपाईंहरू (एनआरएन)ले उठाएका विषय सम्बोधनको पहलका लागि आधार मिलेको छ।” परराष्ट्र सचिव भरतराज पौडेलले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विषय सम्बोधन भएको बताए।

अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले आफूहरू इटलीमा रहेका नेपाली समुदायसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै नेपालीले भोग्दै आएका समस्यालाई नेपाल सरकारसमक्ष पुर्‍याएको बताए।