सुन तस्करी छानबिन उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले गर्‍यो प्रतिनिधिसभा बैठक अवरुद्ध

आकस्मिक समय चलिरहेको बेला एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेपछि एमाले सांसदहरू नारा लगाउँदै सभामुखको आसनअगाडि पुगेका थिए।

काठमाडौँ- सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

बुधबारको बैठकको आकस्मिक समय चलिरहेको बेला एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेका थिए। त्यसपछि एमालेका सांसदहरू ‘सुन तस्करीलाई कारबाही गर’लगायत नारा लगाउँदै सभामुखको आसन अगाडि पुगेका थिए।

एमालेको नाराबाजीपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराउँदै बैठक स्थगित गरेको घोषणा गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते दिउँसो १ बजे बस्ने छ।

यसअघि बैठकको प्रारम्भमै एमालेका सांसद आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए। गिरीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमा श्रम गरेर आउने जनताका एक सेट मोबाइल र सानो टुक्रा सुन जफत हुने गरेकोमा  क्विण्टल सुन गैरकानूनी रूपमा कसरी भित्रियो भनी प्रश्न गरेका थिए।

प्रमुख सचेतक गिरीले यस प्रकरणमा संसदबाट उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै त्यसको सुनिश्चितता नभएसम्म संसद् चल्न नदिने बताए। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि माग गरे।