पोखरास्थित रत्नमन्दिर गएको जेठ १५ गतेबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिए पनि दरबारभित्रका संरचना खुला नगरिएपछि त्यहाँ पुग्ने पर्यटकले असन्तुष्टि जनाउने गरेका छन्।
पोखरा- पोखराको फेवाताल किनारस्थित रत्नमन्दिर खुला गरिए पनि दरबारको भित्री संरचना हेर्न नपाएपछि त्यहाँ पुग्ने पर्यटकले गुनासो गर्न थालेका छन्। जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर सर्वसाधरणका लागि सशुल्क खुला गरिएको रत्नमन्दिर दरबारको भित्र जान दिइएको छैन।
पोखरा–१४ की सोनी शर्मा ६५ वर्षीय आमालाई रत्नमन्दिर परिसर घुमाएर गेट बाहिर निस्किँदै थिइन्। आफूलेभन्दा बढी आमाले दरबारभित्र हेर्न रहर गरेकाले घुमाउन लिएर आएको तर सोचे जस्तो नपाएको उनको गुनासो थियो। “हामीले त दरबारभित्र के छ, कसरी राजपरिवार बस्थे, उनीहरुले प्रयोग गरेका सामग्री केकस्तो होलान् भन्ने कौतूहलता लिएर आएका थियौँ। तर भित्र हेर्न नपाएपछि कौतुहलता रहिरह्यो, त्यति खुशी लागेन,” उनले भनिन्।
पर्वतबाट पोखरा घुम्न आउनुभएकी सविता विश्वकर्मालाई पनि रत्नमन्दिरको भित्रसम्म हेर्न नपाउँदा बेकार टिकट काटेजस्तो लागेको छ। उनले भिनन्, “फेवाताल किनारमा राजाको दरबार छ भन्ने सुनेर छोरी लिएर आएको थिएँ, अरु ठाउँहरू त घुमेका थियौँ, दरबार हेर्न पाइन्छ रे भनेर आएको बाहिर मात्रै रहेछ। भित्र हेर्न पाइएन ।”
लेकसाइडस्थित क्रिष्टल प्यालेसका सञ्चालक पर्यटन व्यवसायी मुना पौडेलले पनि आफ्नो होटलमा आएका पर्यटकले रत्नमन्दिरभित्र हेर्न नपाएको गुनासो गर्ने गरेको बताइन्। उनले भनिन्, “हामीले होटलमा आउने पर्यटकलाई रत्नमन्दिर घुम्नका लागि सुझाव दिन्छौँ तर पर्यटक त्यहाँ पुगेर आएपछि त्यति सन्तुष्ट देखिँदैनन्।”
विशेषगरी रत्नमन्दिर दरबारभित्रको संरचना र सामग्री अवलोकन गर्न नपाएको गुनासो पर्यटकले गर्ने गरेको उनले बताइन्। पौडेलका अनुसार टिकट काट्यो, भित्र गयो, रत्नमन्दिर र हावाघरको बाहिरबाट अवलोकन गरेर फर्किंदा रत्नमन्दिर भित्र के छ भन्ने कुरा नै पर्यटकले हेर्न नपाउँदा खिन्न हुने गरेका छन्। बाहिर केर्न मात्र टिकट काटेर किन जाने भन्ने प्रश्न पर्यटकबाट आउन थालेको उनको भनाइ छ।
“हामीले निकै लामो समयदेखि रत्नमन्दिर खोल्नुपर्छ भनेर विभिन्न फोरममा आवाज उठायौँ, रत्नमन्दिर खुलासँगै पोखरामा पर्यटकीय नयाँ गन्तव्य थपिनेछ र यसले पर्यटकलाई लोभ्याउने छ भन्ने थियो तर मुख्य कुरा नै हेर्नबाट बञ्चित भएपछि यो आकर्षक गन्तव्य बन्न सकेको छैन,” पौडेलले भनिन्।

शाह वंशको इतिहाससँग जोडिएको दरबारको आन्तरिक संरचना संरक्षित सामग्री हेर्ने अवसरबाट सर्वसाधारणलाई बञ्चित गर्न नहुने नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउँछन्। “सर्वसाधरणमा एउटा कौतुहलता हुन्छ राजपरिवार सदस्यले प्रयोग गर्ने सामग्री के कस्ता थिए, उनीहरुको शयन कक्ष, भान्छा कोठा, बैठक कक्ष कस्तो होला भन्ने, यो स्वाभाविक पनि हो । यसलाई हेर्ने प्रबन्ध मिलाउनुपर्छ,” उनले भने।
आन्तरिक व्यवस्थापन वा अन्य कुनै कारणले अहिले नमिलेको भए पनि वैकल्पिक व्यवस्था अपनाएर पर्यटकलाई घुम्न दिइनुपर्ने उनले बताए। आफूले केही समय पहिला रत्नमन्दिरभित्र अवलोकन गर्दा भान्छा, बैठक, दराजदेखि शयन कक्षलगायतका कतिपय ठाउँहरूमा खाली देख्दा तत्कालीन समयमा यसको रेखदेखमा जिम्मेवार प्राप्त पदाधिकारीबाट लापरबाही भएको हो कि भन्ने आशङ्का उत्पन्न भएको उनको भनाइ छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि रत्नमन्दिर अवलोकन गरेर फर्केका पर्यटकबाट भित्र हेर्न नपाएको गुनासो आउने गरेको बताए। अध्यक्ष श्रेष्ठले दरबारको आन्तरिक संरचना दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग अवलोकन गर्न नमिले पनि बाहिर स्क्रिनबाट डिस्प्ले गर्न ट्रष्टलाई आफूहरूले सुझाव दिएको बताए।
नेपालका ट्रष्टका सञ्चालक समितिका सदस्य याङजोम शेर्पाले सर्वसाधारणबाट आएको गुनासो जायज भएको तर केही संरचनागत प्राविधिक कुराले रत्नमन्दिर भित्र अवलोकनका लागि खुलाउन नसकिएको जानकारी दिए। उनले भने, “अहिले उठेको गुनासो स्वाभाविक हो। दरबारभित्रका कोठा, भर्याङदेखि भित्री संरचना साँघुरा छन्, पुरानो संरचना हो, अहिले नै भित्रका लागि खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा निकै चुनौती छ।”
राजा महेन्द्रले आफ्नी रानी रत्नाका नाममा २०१५ सालमा यो दरबार बनाएका हुन्। दरबारभित्र बैठक कक्ष, राजारानी शयन कक्ष, डाइनिङ हल, बैठक कक्ष शाही नातेदार र सुरक्षा अधिकारीहरूका लागि शयन कक्ष गरी ११ कोठा छन्। रत्न मन्दिर १७४ रोपनी क्षेत्रफलमा फैलिएको छ। सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ। फेवाताल किनारमा ‘हावा घर’ पनि छ। राजा वीरेन्द्र र उनको परिवारको दरबार हत्याकाण्डमा मृत्यु भएपछि २०६४ मङ्सिर ६ गते यो दरबार नेपाल ट्रस्ट मातहतमा आएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
