१८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। रोकथामका लागि दीर्घकालीन योजना नहुँदा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।
म्याग्दी– बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ। उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो।
करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्।
धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताए। सामान्य वर्षा हुने बित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उनले बताए।
ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ थियो। “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ,” उनले भने, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ।” उनका अनुसार पहिरोबाट खसेको ढुंगाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्।
करिब १५० मिटर सडक पहिरोग्रस्त छ। पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ। “सडक माथिको भिरमा गेगरै गेगर छ। खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,” श्रीसले भने, “म्याग्दी नदीको किनारमा बनाइएको पक्की पर्खालले कटान रोकिएको छ।” उनका अनुसार सडकदेखि करिब २०० मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।
“पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुंगा खसिरहने भएकाले जोखिम छ,” मंगला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भने, “यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पुर्याउन सकिएको छैन।”
उनअनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन्। मंगला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ। मालिका गाउँपालिकाको बांगे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको उनले सुनाए।
पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा बित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए। “फापरखेत, लाम्पाटा र बांगेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङ सहितको छुट्टै काम गर्नुपर्छ,” उनले भने, “ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ।”
स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताए। “फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ,” उनले भने, “पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन।”
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए। भूगर्भविद् र प्राविधिकको टोलीमार्फत पहिरो नियन्त्रण गर्ने अथवा वैकल्पिक सडकको अध्ययन गरेर टोलीले दिने सुझावका आधारमा समस्या समाधानको पहल गर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
