प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानन्यायाधीशको सिफारिसबारे छलफल

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जाँदै छन्। प्रधानमन्त्रीले छिट्टै बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउने बताएका छन्।

फाइल तस्वीर

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

आइतबार बिहान भएको भेटमा भावी प्रधान्याधिशको सिफारिस र अवरुद्ध संसद् सुचारु गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा प्रधानमन्त्री दाहालले ससद् सुचारु गर्न ओलीलाई आग्रह गरेका थिए। जवाफमा ओलीले पार्टीभित्र छलफलपछि निर्णय गर्ने भनेकका छन्। ओलीले प्रधानमन्त्री दाहाललाई भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अगाडी बढाउनका लागि तत्काल संवैधानिक परिषद्को बैठक बोलाउन आग्रह गरेका थिए।

प्रधानमन्त्रीले छिट्टै बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउने बताएका छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जाँदै छन्।

त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया थालिएको हो।