गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा

आयोगले पुरीविरुद्ध एक करोड चार लाख तीन हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ। 

काठमाडौँ– नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक करोड बिगो दाबीसहित मुद्दा दायर गरेको हो। 

आयोगले नापी अधिकृत पुरी सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्ति अध्ययन गरेको थियो। आयोगका अनुसार पुरी २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। 

सो अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार रुपैयाँ रहेको पाइएको छ। त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याज, आय र जग्गाको मुआब्जालगायत छ।

सो अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार रुपैयाँ बराबर खर्च तथा लगानी गरेको पाइएको छ। खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले पुरीविरुद्ध एक करोड चार लाख तीन हजार रुपैयाँ बिगो दाबी गरिएको आयोगले जनाएको छ।

आयोगले बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरेको छ। सार्वजनिक पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ। 

आयोगले सिर्जनालाई समेत प्रतिवादी कायम गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।