प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन्। राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ। अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहेकै छन्।
बेलबारी– मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन्। खेलाडीको संख्या दिन प्रतिदिन बढ्दो छ। तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ। अधिकांश मैदान पशुचौपायाका लागि चरनका रूपमा प्रयोग भइरहेका छन्।
प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन्। राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ। अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहेकै छन्। तिनै प्रतियोगिताबाट खेलाडी पर्याप्त मात्रामा उत्पादन भइरहेका छन्।
खेल मैदान देखेर खेलाडी उत्साहित हुने गरेका भए पनि सामग्री अभावमा उनीहरू निराश हुनु परिरहेको मोरङको बेलबारीका फुटबल प्रशिक्षक शंकर सुवेदी बताउँछन्। बेलबारीमा मात्रै तीन ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन्। “संघीय सरकारले खेलकुदमा गर्ने लगानी बेलबारीसम्म पुग्दैन,” उनले भने, “स्थानीयस्तरमा सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ।”
मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजिन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध छन्। बेलबारीका विवेक पौडेल र अञ्जन राई पनि राष्ट्रिय टोलीमा छनोट भइसकेका खेलाडी हुन्। मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकी स्थानीय फुटबल क्लब र स्थानीय तहबीच प्रतियोगिता सञ्चालनका लागि समन्वय हुँदै आएको बताउँछन्।
“जिल्ला फुटबल संघ आर्थिक रूपमा कमजोर भएकाले खेलाडीको चाहनाअनुसार पर्याप्त खेल सामग्री उपलब्ध गराउन सकिएको छैन,” उनले भने।
भाउन्नेस्थित खेल मैदानमा जुनियर खेलाडीलाई प्रशिक्षण दिँदै गरेका मच्छिन्द्र, जाउलाखेल र च्यासल क्लबबाट फुटबल खेलेका विक्रम लिम्बूले भने, “खेल सामग्री पर्याप्त रूपमा पाउन सके दक्ष खेलाडी उत्पादनमा समस्या हुने थिएन।” राजधानी केन्द्रित खेलकुदको बजेट मोफसलमा ल्याउन आवश्यक भएकामा उनले जोड दिए।
मोरङको बेलबारीको लक्ष्मीमार्ग क्षेत्रलाई आधार बनाएर डाँगीहाट युथ क्लब स्थापना भएको छ। भाउन्ने क्षेत्रलाई समेटेर डाँगीहाट फुटबल क्लब तथा बेलबारी बजार क्षेत्रमा बेलबारी फुटबल क्लब सक्रिय छ । राधानगरमा एम्ब्रियो युवा क्लब खेल गतिविधिमा सक्रिय छ।
स्रोतसाधनको अभावमा गोल्डकपको आयोजना गर्नु चुनौतीपूर्ण काम भएको डाँगीहाट फुटबल क्लबका अध्यक्ष विक्रम बान्तवा राई बताउँछन्। विसं २०७० मा स्थापना भएको उक्त क्लबले हालसम्म लक्ष्मी माविको खेल मैदानमा पाँच वटा गोल्डकप भव्य रूपमा सम्पन्न गरिसकेको छ। अध्यक्ष राईले क्लब छैटौँ गोल्डकपको तयारीमा जुटेको जानकारी दिए।
स्थानीय तथा विदेशमा छरिएर रहेका खेलप्रेमीको सहयोगमा निर्भर रहेको बेलबारी–११ लक्ष्मीमार्गस्थित खेल मैदान हेर्दै आकर्षक रहेको छ। प्रदेश नं १ स्तरीय महिला फुटबल, जिल्लास्तरीय प्याब्सन प्रतियोगिता र जिल्लास्तरीय एनप्याब्सन खेल प्रतियोगिता पनि यही खेल मैदानमा सञ्चालन हुँदै आएका छन्।
विसं २०६६ मा स्थापना भएको डाँगीहाट फुटबल क्लब छोटो समयमै मोफसलमा आफ्नो छाप छाड्न सफल भएको छ। क्लबले तीन वटा गोल्डकप प्रतियोगिता सम्पन्न गरिसकेको छ। एक दशकअघि यही खेल मैदानमा राष्ट्रिय टोलीविरुद्ध मोरङ–११ को खेल भएको थियो। १३ वर्षको अवधिमा पाँचथर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा करिब ५० प्रतियोगिताको उपाधि जितिसकेको क्लबले जनाएको छ।
बेलबारीकै बजार क्षेत्रलाई आधार बनाएर फुटबल गतिविधिलाई केन्द्र बनाइराख्ने अर्को क्लब हो बेलबारी फुटबल क्लब। त्यसैगरी उर्लाबारीस्थित उर्लाबारी फुटबल क्लब, सम्राट् स्पोर्टिङ क्लब, युनाइटेड युथ क्लब, मोतीराम स्पोर्टिङ क्लब, नव प्रगतिशील समाजसेवा क्लब जहदा, हरैँचा स्पोर्टिङ क्लब, चारतारे युवा क्लब लेटाङ र साइनो स्पोर्टिङ क्लब खेल गतिविधिमा सक्रिय रहेको प्रशिक्षक सुमन श्रेष्ठ बताउँछन्।
“खेलाडीले पर्याप्त खेल सामग्रीका साथै प्रशिक्षक पाउनसके खेलको स्तर पक्कै उकासिने छ”, उनले भने। मोरङमा रानी युवा क्लब, त्रिवेणी युवा क्लब, एम्रियो युवा क्लब र रमाइलो युवा परिवार पनि खेल गतिविधिका लागि परिचित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
