मेस्सीसँगै सन्यास लिने सुआरेजको चाहना

अमेरिकी क्लब मियामी जान असफल भएका उरुग्वेली फरवार्ड लुइस सुआरेजले बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सीसँगै सन्यास लिने चाहना रहेको बताएका छन्।

उरुग्वेली फरवार्ड लुइस सुआरेजले बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सीसँगै सन्यास लिने इच्छा व्यक्त गरेका छन्। ब्राजिलयन क्लब ग्रेमियोबाट अमेरिकन क्लब इन्टर मियामी जान असफल भएपछि सुआरेजले उक्त कुरा खुलासा गरेका हुन्।

इन्टर मियामीले सात पटकको बालोन डी’ओर विजेता मेस्सीलाई अनुबन्ध गरेको छ। उनका बार्सिलोनाका सहकर्मी तथा मिडफिल्डर सर्जियो बुस्केट्स र डिफेन्डर जोर्डी अल्बाजस्ता प्रभावशाली खेलाडीलाई पनि मियामीले भित्र्याएको छ। मियामीले बार्सिलोनाका अर्का पूर्वट्रेबल विजेता सुआरेजलाई पनि भित्र्याउने प्रयास गरेको थियो। तर, ग्रेमियोले सुआरेजलाई स्थानान्तरण गर्न चाहेन। स्थानान्तरण रोकिए पनि मेस्सी र सुआरेजले फेरि सँगै खेल्ने आशा कायमै राखेका छन्।

सुआरेजले उरूग्वेको टेलिभिजन कार्यक्रम 'पुन्टो पेनल'मा भनेका छन्, “हामीसँगै सन्यास लिने सपना देखेका छौँ। बार्सिलोनामा हुँदा हामीले यस्तो योजना बनाएका थियौँ। त्यसको एक वर्षपछि म एट्लेटिको (स्पेनिस क्लब एट्लेटिको मड्रिड) गएँ र उनी पीएसजी गए। तर, बार्सिलोनापछि अमेरिका जाने सल्लाह गरेका थियौँ, त्यसबेला सम्भव भएन।”

३६ वर्षीय सुआरेज खेलजीवनको उत्तरार्धमा छन्। ग्रेमियोका अध्यक्ष अल्बर्टा गुएराले सुआरेज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने स्थितिमा पुगेको बताएका छन्। सुआरेज हाल दाहिने घुँडाको चोटबाट मुक्त हुन संघर्ष गरिरहेका छन्। 

विभिन्न युरोपियन क्लबहरूमा खेलेपछि उनी आफ्नो डेब्यू क्लब नासिनियोलमा फर्किएका थिए। उनले त्यसअघि डच क्लब आयक्स, इंग्लिस क्लब लिभरपुल, क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।

नासियोनलमा दोस्रो सत्रमा तीन महिना बिताएका उनले त्यहाँ रहँदा टोलीलाई उरूग्वेन च्याम्पियनसिप जिताए। त्यसपछि उनी ब्राजिल छिरेका हुन्।  मेस्सीसँगै खेल्ने उनको आकांक्षा एक दिन पूरा हुनेमा सुआरेज आशावादी छन्।