माग पूरा नभए साउन २९ देखि अनशन बस्ने डा. गोविन्द केसीको घोषणा

डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र भर्नासम्बन्धी निर्णय खारेज, दोषी पदाधिकारीलाई बर्खास्तलगायत माग साउन २९ गतेभित्र पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएका छन्।

फाइल तस्वीर

काठमाडौँ– चिकित्सा शिक्षा सुधारको माग गर्दै डा.गोविन्द केसीले फेरि अनशन बस्ने घोषणा गरेका छन्। उनले आफ्ना माग सम्बोधन नभए आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका हुन्।

सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने संगठित प्रयास भइरहेको आरोप लगाए। आयोगका सह–अध्यक्ष समेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरूको त्यस्तो प्रयासमा साथ दिइरहेको आशंका उत्पन्न भएको उनको भनाइ छ।

स्वास्थ्य शिक्षाका विभिन्न विषयमा सीटीईभीटीमा भर्तीका लागि ‘अवैध रूपमा अघि बढाइएको’ सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षामन्त्री अशोककुमार राईले केही नगरेको डा. केसीको आरोप छ। उनीहरूलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले पनि आशंक जन्माएको उनको भनाइ छ।

डा. केसीले भने, “दलीय कार्यकर्ता भर्ती केन्द्र बनेका राज्यका अरू नियामक निकायसमेत चिकित्सा शिक्षा आयोगलाई अटेरी गरेर मेडिकल माफियाको भाषा बोल्नु संयोग मात्रै नभई मेडिकल शिक्षामा अहिलेसम्म भएको सुधारलाई उल्ट्याउने भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिक दलहरुको संगठित प्रयास भएको देखिन्छ।”

केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याउन माग गरेका छन्। उनले यी माग पुरा नभए साउन २९ गतेदेखि अनशन बस्ने अल्टिमेटम दिएका छन्।

त्यसैगरी, यीसहित शुल्क बढाउनेसम्बन्धी सीटीईभीटीको निर्णय खारेज गर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पु¥याउने तथा सञ्चालनमा ल्याउने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानून बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्नेलगायत माग गरेका छन्।