डोटी भूकम्प अपडेट : ८ घरमा पूर्ण क्षति, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै

डोटीमा मंगलबार रातिको भूकम्पले ८ घर पूर्ण रुपमा भत्किएका छन् ।

तस्वीर : चेतन बाेहराकाे फेसबुक

कठमाडौँ– डोटीमा मंगलबार रातिको भूकम्पले ८ घर पूर्ण रुपमा भत्किएका छन्।

पूर्वीचौकि गाउँपालिका–३ ठाडा गाउँका ८ घर पूर्ण रुपमा भत्किएको र केही घरमा सामान्य क्षति पुगेको डोटीका एसपी राजेन्द्र धमलाले जानकारी दिए। घर भत्कदा च्यापिएर ६ जनाको मृत्यु भएको छ।

उनीहरू सबैको शव राति नै निकालिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्। मृत्यु हुनेमा ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा छन्। यस्तै ४५ वर्षीय प्रेम बोहरा, १२ वर्षीया तुलसी बोहरा र १७ वर्षीया छोरी धनसरी बोहराको मृत्यु भएको हो।

घरभित्रै पुरिएका १ बालकको बिहान सकुशल उद्दार गरिएको उनले बताइन्। जिल्लाका अन्य ठाउँबाट भने क्षतिको खबर नआएको प्रजिअ श्रेठले बताइन्। गम्भीर घाइते ५ जनाको उद्धार गरेर राति नै जिल्ला अस्पताल लगिएको छ।

सामान्य घाइते ३ जनाकाे प्रथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे पालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्र बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त गाउँ केन्द्रबीन्दु नजिकै पर्ने भएकाले असर बढी परेको हुनसक्ने उपाध्यायको भनाइ छ।