कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त गरेका छन्।
काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।
बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ।
कोशी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका तर्फबाट मंगलबार अपराह्न ४:४५ बजे कांग्रेसका थापाले मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि ४७ जना प्रदेशसभा सदस्यहरूले रहेको चार राजनीतिक दलहरूको समर्थनसहित दाबी पेस गरेका थिए।
“नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेशसभाका माननीय सदस्य श्री उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मुख्यमन्त्री नियुक्त भएका थापाले १ महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
थापाका पक्षमा बहुमत पुर्याउनका लागि सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए। ९३ सदस्यीय प्रदेशसभा रहेको कोशीमा बहुमत पुग्नका लागि ४७ सांसद आवश्यक थियो। सत्ता गठबन्धनलाई बहुमत पुर्याउन एक सिट नपुगेपछि सभामुख गौतमले राजीनामा दिनका हुन्।
थापा दोस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। थापालाई नै मुख्यमन्त्री बनाउन सभामुखको पदमा छँदै गौतमले पनि हस्ताक्षर गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो।
असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनविरुद्ध दायर भएको रिटमा साउन ११ गतेको सर्वोच्चको पूर्ण इजलासले जुन बिन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो। सोही आदेशअनुसार प्रदेश प्रमुख खापङले साउन १२ गते नयाँ सरकार गठनका लागि चार दिनको समय दिएर आह्वान गरेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
