गठबन्धनका शीर्ष नेता बैतडी आउँदै

बैतडीको कार्यक्रमपछि शीर्ष नेता बुधबार नै दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने सभालाई सम्बोधन गर्न जानेछन्। 

बैतडी– सत्ता गठबन्धनका शीर्ष नेता बुधबार बैतडी आउँदै छन्। 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनावी सभालाई सम्बोधन गर्न आउन लागेका हुन्। उनीहरूले दिउँसाे पाटनमा आयाेजित गठबन्धनकाे सभालाई सम्बाेधन गर्नेछन्। 

बैतडीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी मैदानमा छन्। गठबन्धनबाट प्रतिनिधिसभामा माओवादीका नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा छन्। प्रदेश सभा (क) मा कांग्रेसका वीररबहादुर बिष्ट र (ख)मा कांग्रेसकै शिवराज भट्ट उम्मेदवार छन्।

बैतडीको कार्यक्रमपछि बुधबार नै नेताहरूले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने सभालाई पनि सम्बोधन गर्नेछन्।