संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार

आगामी संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए।

काठमाडौँ– संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ। मंगलबार अपराह्न ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्षविहीन बनेको हो । 

नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने अजेन्डामा बसेको बैठकमा भावी प्रधानन्यायाधीशको नामसमेत प्रस्ताव नभएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए। अर्को बैठक साउन १८ गते बिहीबार साँझ ५ बजे बस्ने गरी स्थगित भएको उनको भनाइ थियो।

“प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने अजेन्डा थियो। १८ गते ५ बजे प्रधानन्यायाधीश लगायत रिक्त संवैधानिक पदहरूको बारेमा छलफल गर्ने गरी बैठक स्थगित भयो। नाममा प्रवेश नै भएन,” उनले भने।

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताए। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन चार दिन मात्रै बाँकी छ। उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना र राष्ट्रसभा अध्यक्ष तिमिल्सिनाको उपस्थिति रहेको थियो।