निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिमा सभामुख असन्तुष्ट

सरकारले दिने भुक्तानी रोकिएको भन्दै ठेकेदारले नापी नापी काम गर्दा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नभएको सभामुख घिमिरेले बताएका छन्।

काठमाडौँ– सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्।

सभामुख घिमिरेले बुधवार सरोकारवालासँग निर्माणाधिन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको, तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि निर्माणले गति नलिएको उनले बताए।
घिमिरेले अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए। निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको उनको जिकिर छ। 

अहिले निर्माण भुक्तानी दिन सरकारलाई गाह्रो भएको कारण ठेकेदारहरूले पनि नापेर निर्माणका काम गरिरहेको सभामुख घिमिरेको भनाइ छ। तर निर्माणाधीन संसद् भवनका लागि भुक्तानी दिन कठिनाइ नरहेको उनले बताए। 

सभामुख घिमिरेले भने, “हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन। कामको स्पिड धेरै गएको छैन। अहिले देखेको डरलाग्दो समस्या के हो भने सरकारले पेमेण्ट गर्न गाह्रो छ। त्यो देखेर ठेकेदार पनि नापी नापी काम गरिरहेका छन्। तर यहाँ त्यो समस्या छैन।”

घिमिरेले अहिलेकै गतिमा तोकिएको समयमा काम नसकिने बताए। हिउँदे अधिवेशन निर्माणाधीन संसद भवनबाट सञ्चालन गर्ने गरी काम गर्न समामुख घिमिरेले निर्देशन दिए।