कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, सभामुख छाडेका गौतम पनि मन्त्री

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले एक महिनामा दोस्रोपटक शपथ लिएका छन्। सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।

काठमाडौँ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन्। उनले एक महिनामा दोस्रोपटक मुख्यमन्त्रीको सपथ लिएका हुन्।

हिक्मत कार्की नेतृत्वको तत्कालीन सरकार ढलेपछि थापा पहिलोपटक असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर बहुमत पुर्‍याउन तत्कालीन सभामुख बाबुराम गौतमले पनि गरेको हस्ताक्षरलाई सर्वोच्चले असंवैधानिक ठहर गरेपछि उनको नियुक्ति बदर भएको थियो।

सर्वोच्चले साउन ११ गते उनको नियुक्ति बदर गरेर सात दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गर्न प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको थियो। प्रदेश प्रमुख खापुङले बहुमत पुर्‍याएर मुख्यमन्त्रीको दाबी पेश गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिएका थिए।

सभामुख गौतमले मंगलबार दिउँसो नै राजीनामा गरेपछि थापाले बहुमत प्रदेशसभा सदस्य समर्थन भएको दाबी गरेका थिए। उनी मंगलबार नै मुख्यमन्त्री नियुक्त भएका थिए। उनले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

मुख्यमन्त्री थापाले तीन जनालाई मन्त्रिमण्डलमा समावेश गरेका छन्। सभामुखबाट राजीनामा दिएका गौतम पनि मन्त्री नियुक्त भएका छन्। उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जवेगु नियुक्त भएका छन्। तीनै जना नवनियुक्त मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख खापुङले शपथ गराएका छन्।