बिजुलीको अनियमित आपूर्तिले समस्या परेको भन्दै होटल संघ पोखराले गर्‍यो प्राधिकरणको ध्यानाकर्षण

विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख जगदीशचन्द्र जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण समयसमयमा बिजुली जाने समस्या भएको बताएका छन्।

होटल संघ पोखराको प्रतिनिधिमण्डल। तस्वीर सौजन्य: ईआदर्श डटकम

पोखरा- प्रत्येक दिन समयसमयमा विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै होटल संघ पोखराले बुधबार नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको छ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले प्राधिकरणका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई समयसमयमा विद्युत् अवरुद्ध हुँदा हुने समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाएको हो। विद्युत् अवरुद्ध हुँदा होटल क्षेत्रका साथै आम सर्वसाधारण मर्कामा परेको अध्यक्ष सुवेदीले बताए। विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई सेवा उपलब्ध गराउन कठिनाइ हुँदै आएको उनको भनाइ छ। 

संघका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले सहजरूपमा विद्युत् पाउन नसकेको बताए। संघकी सचिव पार्वता पाण्डे, निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठलगायतले समयसमयमा विद्युत् कटौती हुँदा होटेलसहित पर्यटन क्षेत्रले ठूलो समस्या भोगेको बताए। 

ध्यानाकर्षणपत्र बुझ्दै प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताए। उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत् अवरुद्ध हुने गरेको उनको दाबी छ।

विद्युत सर्किटको आन्तरिक सेन्सर बढी तात्ने र थप तात्न नदिन ब्रेकरले विद्युत अवरुद्ध गरिदिने प्रणालीलाई ट्रिपिङ भनिन्छ। "तपाईंहरू अब धेरैभन्दा धेरै विद्युत खपत गरिदिनुहोस्, यो समस्या आफैँ समाधान भएर जान्छ," जोशीले संघका पदाधिकारीलाई भनेका थिए। 

उनले विद्युत ट्रिपिङको समस्या देशभरि भएको पनि बताए।