संसदीय समितिले गर्‍यो प्रस्तावित दुई राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको छ। 

काठमाडौँ– संसदीय सुनुवाइ समितिले दुई देशको राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ। 

समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (यूएई)का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको हो। प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए।

बैठकमा बोल्दै यूएईका लागि प्रस्तावित नेपाली राजदूत क्षेत्रीले आफ्नो लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीको सहयोग गर्ने प्रतिबद्धता जनाए।  उनले देशको हितका लागि आवश्यक कामहरूलाई त्यहाँको सरकारसँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुई पक्षीय सम्बन्ध सुधार र बिस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाए।

बैठकमा कुवेतका लागि प्रस्तावित राजदूत लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताए। उनले त्यहाँ रहेका नेपाली नागरिकको हक, हितका विषयमा केन्द्रित भई काम गर्ने बताए।

समितिको बैठकमा सांसदहरूले राजदूतहरूले नियुक्त भएको देशमा पुगेपछि विश्राम स्थलको रूपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए। राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकको हक हित सुनिश्चित गर्न जोड दिन आग्रह गरे।