माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधानअनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले पार्टी विधिसम्मत रूपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधबारदेखि काठमाडौँमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी विधान अनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने बताएका हुन्।
उनीहरूले पार्टीले बनाएको योजनाहरू कार्यान्वयन नहुने समस्या रहेको गुनासो गरे। बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन्।
उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको उल्लेख गरिन्। उनले सांगठनिक रूपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याइन्। त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उनको माग थियो।
“विधि, पद्धति र प्रणालीमा लगेर चलाउन नै चुकेको छ। भद्रगोल, विधिसम्मत रूपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ। योजना बनाएअनुसार कार्यान्वयन नहुँदा समस्या। सुधारको पाटो, विधान अनुसार मेरो, तेरो नभनी फिल्डमा पठाउने। अब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ,” उनले भनिन्।
त्यस्तै, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब योभन्दा ओरालो लाग्ने ठाउँ नरहेको धारणा राखे। उनले ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरूको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए। माओवादी पार्टी जति विधानमा अरू कोही उदार नभएको भन्दै उनले आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए।
“जनताको हामीसँग विश्वास गुमेको छ। जनता रिसाएका छन्। रिसाएका जनताको मन खुशी बनाउने। ३ महिनाभित्र विधान सम्मेलन गर्ने। किनभने विधानमा हामी जति उदारवादी यो संसारमा कोही पनि छैन,” उनले भने, “हामी जति बेला पायो त्यतिबेला बदल्दिन्छौँ। परिवर्तन गर्छौं। थपिदिन्छौँ। घटाइदिन्छौँ। अब आइन्दा नगर्ने भन्ने छ।”
केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरू तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रूपले उठिरहेको बताए। त्यस्तै, पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताए। “अब अधिकांश पदहरू चुनावबाट आउनुपर्यो। चुनावबाट आउनुपर्यो भने कार्यकर्ता गाउँमा पनि जान्छन्। बाध्य भएर जान्छन्,” उनले भने।
केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरूलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए। उनले सरकारको कामले जनतालाई आशा जगाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताए। आगामी दिनमा जनताको अपेक्षा पूरा हुने गरी संगठन निर्माण गर्नुपर्ने उनले उल्लेख गरे।
केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरूको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए। उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरूले सामूहिकतामा विश्वास गर्नुपर्ने बताए।
केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरूप्रति आशंका र अविश्वासहरू पैदा भइरहेको अवस्थामा पार्टीलाई रूपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताइन्। उनले पार्टी अध्यक्षले पार्टीलाई रूपान्तरण गर्दै अगाडी बढाउनेमा विश्वास व्यक्त गरिन्।
केन्द्रीय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखा परेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए । बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जाने गरी आधार तयार गर्ने उल्लेख गरे।
केन्द्रीय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरूको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताए। बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उनले जानकारी दिए।
केन्द्रीय सदस्य शाक्यले पार्टीका नेताहरू भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्ने गरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने र निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
