सामाखुसी खोलामा बगेका बालकको शव दक्षिणकालीमा भेटियो

काठमाडौँको सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ।

फाइल तस्वीर

काठमाडौँ– काठमाडौँको सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ।

भारी वर्षापछि सामाखुसी खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका साजनको बिहीबार शव भटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार बागमती किनारमा उनको शव फेला परेको हो।

साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो। त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।

तर, बिहीबार ११ दिनपछि साजनको शव फेला परेको प्रहरी उपरीक्षक ढुंगेलले बताए। स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए।

साजन खोटाङ घर भई काठमाडौँ–३ रानीबारीमा बुबा मनोज आलेमगरसँग साजन बस्दै आएका थिए। उनी रानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययन गर्थे।