टी–२० विश्वकप : फाइनल प्रवेशका लागि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छन्।

काठमाडौँ– आईसीसी टी–२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तान र न्युजिल्यान्डकाे खेल शुरू भएकाे छ । 

खेल सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले ब्याटिङ रोजेका छन्। पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छन्।

सन् २००९ को च्याम्पियन पाकिस्तान सुपर १२ खेलको अन्तिम दिन मात्रै सेमिफाइनलमा पुगेको थियो। नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गर्दा पाकिस्तानलाई अन्तिम चारमा पुग्ने बाटो खुलेको थियो। बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डबीच २८ टी–२० आई खेल भएका छन्।

जसमा पाकिस्तानले १७ र न्युजिल्यान्डले ११ जित निकालेका छन्।  पछिल्ला ५ टी–२० आईमा पाकिस्तान ४ खेलमा विजयी भएको छ। गतवर्ष टी–२० विश्वकपमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै समूह विजेता बनेको थियो।

अघिल्लो महिना भएकाे त्रिकोणात्मक टी–२० सिरिजमा पाकिस्तानले फाइनलमा घरेलु टोली न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो।