पियारी आमा: जसले आफ्नो नाममा रहेको सबै जग्गा विद्यालयलाई दिइन्

नवलपुरको कावासोती–४ की पियारी गुरुङले आफ्नो नाममा रहेको सबै सम्पत्ति विद्यालयलाई प्रदान गरेकी छन्। उनको सम्मानमा नगरपालिकाले ‘पियारी गुरुङस्तम्भ’ निर्माण गर्ने योजना बनाएको छ।

त्रिवेणी– खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। धानखेत देखाउँदै पियारी गुरुङले भनिन्, “मैले त पढ्न पाइनँ, अब अरूले पढ्न पाउन् भनेर यो जग्गा स्कुललाई दान गरेँ।” 

गुरुङले नवलपुरको कावासोती नगरपालिका–४ मा रहेको जग्गा स्थानीय सरस्वती माविलाई प्रदान गरेकी हुन्। ९६ वर्षीया गुरुङलाई सम्मानले बोलाउने नाम हो, ‘पियारी आमा’। घर सानो भए पनि मन ठूलो भएकी पियारी आमाले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरेकी हुन्। उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छन्। पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घर मात्रै छ।

विद्यालयलाई दिएको जग्गामा नै उनको घर छ। यसअघि पनि उनले खेतमा हुने सबै उब्जनी विद्यालयलाई दिने गरेकी थिइन्। “त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु,” उनले भनिन्।

पियारी आमाले आफूसँग भएको जग्गा मात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरूलाई सहयोग गर्ने गरेकी छन्। पियारी आमाले विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए।

“अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गर्नुभएको छ,” उनले भने, “अरूबाट केही आस नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उहाँको छ। शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मानसमेत गरेको छ।”

शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ। पियारी आमाको घरछेउमा स्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए।