वर्तमान संविधानलाई पूर्णता दिने काम नै नेसपाको मुख्य कार्यभार: बाबुराम भट्टराई

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका छन्।

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन्। 

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका हुन्। 

“प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठीक ढंगले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिने र हाम्रो देशलाई संसारको एउटा समुन्नत देशहरूको दिशामा पुर्‍याउने अब यो कार्यभार हुन्छ भनेर हामीले नयाँ अभियान शुरू गर्‍यौँ,” उनले भने।  

अध्यक्ष भट्टराईले नेपाललाई संसारको एउटा समुन्नत देशहरूको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासाथ गरेर अघि बढिरहेको जिकिर गरे। आफ्नो पार्टीले अरू पार्टीहरूले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने उनको भनाइ थियो।

उनले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई संघर्ष, एकता र रूपान्तरणको माध्यमाबाट व्यवस्थापन गर्दै अघि बढाउने बताए।