आज साउन १९ शुक्रबार, यो हप्ताभर सबैभन्दा बढी सुनकै चर्चा भयो। राजस्व अनुसन्धान विभागको अनुसन्धान, राजनीतिक कनेक्सन र बरामद सुनको व्यवस्थापनको चर्चा हुँदा अन्य केही विषय भने छायामा परे।
आज साउन १९ शुक्रबार, यो हप्ता देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
दुई हप्ताअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको 'कोभर्ट अपरेसन'मा १०० किलोभन्दा बढी सुन बरामद गर्यो। सामान्य अवस्थामा ठूला खबरहरूको ‘सेल्फ–लाइफ’ ४–५ दिन पनि नहुने मिडिया ‘स्पेस’मा एकपछि अर्को पत्र खुल्दै गएका कारण यो प्रकरण सेलाउन पाएको छैन।
विभागको एउटा टोलीले काठमाडौँको टोखामा तस्करहरूले गोदामका रूपमा प्रयोग गरेको र तस्करीको सुन भारत पठाउनुअघि प्रशोधन गर्ने गरिएको कारखाना भेटाएको थियो।
यस प्रकरणकै सेरोफेरोमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ। उक्त दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको रजीनामा पनि माग गर्दै आएको छ। गृहमन्त्री श्रेष्ठले घटना सार्वजनिक भएलगत्तै ‘अहिलेको प्रकरणमा दोषी जो कोही भए पनि उन्मुक्ति नपाउने, कुनै 'टार', 'कोट' वा दलको दबाब नसहने’ भनेपछि एमालेले विरोध गर्दै आएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाबाट राजधानी उत्रिनासाथ विमानस्थलमा पत्रकार सम्मेलनमार्फत श्रेष्ठलाई ‘फिल्मी शैली’मा ‘मुख सम्भालेर बोल्न’ चेतावनी दिएका थिए।
अहिलेको क्विन्टल–सुन प्रकरण नेपालमा थाहा भएको वा बाहिर आएको एक मात्र संगठित अपराधको जालो भने होइन। निकट विगतमा ललिता निवास, नक्कली भुटानी शरणार्थीका मुद्दा सतहमा आएका थिए भने करिब ६ वर्षअघि साढे ३३ किलो सुन–काण्डको पर्दाफाश भएको थियो। यद्यपि एकपछि अर्को ‘ठूला मान्छे’को नाम मुछिनेबित्तिकै कारबाहीबिना छोडिने ‘प्यान्डेमिक’ प्रवृत्तिका कारण निष्कर्षमा नपुग्दै यी घटना ‘सानो माछा’ पक्राउसँगै रफादफा गरिए।
साढे ३३ किलो सुन–काण्डको अनुसन्धान पनि राजनीतिक कनेक्सन देखिन थालेपछि रोकिएको थियो। यो मामला अनुसन्धान गर्न सरकारले बनाएको समितिले ‘एमके’ भनिने मोहनकुमार अग्रवालको समूहले पाँच वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। तर उनी कारबाहीको दायरामै आएनन्।
यति धेरै परिमाणमा सुन भेटिएको अहिलेको प्रकरणमा विशेषगरी सत्तारूढ माओवादी केन्द्रका नेताहरूको नाम जोडिन थालेपछि अनुसन्धान पक्रिया टुंगोमा पुग्नेबारे शंका उत्पन्न हुन थालेको छ। तस्करीमा संलग्न तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ भएपछि उनको माओवादीका उच्च तहका नेता वर्षमान पुनसँग उठबस रहेको खबर बाहिरिएको थियो।
गएको साउन ३ गते साँझसम्म अर्को सुन–काण्डबारे खुबै चर्चा भइरहेको थियो– फ्लाई दुबईको उडानबाट आएको ९ केजी सुन प्रकरण। प्रहरीको प्रारम्भिक अनुसन्धानले नै त्यो तस्करीमा सत्तारूढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता रहेको देखाएको थियो। तथापि असार २८ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा यससम्बन्धी मुद्दा दायर गर्दा महराको नाम उल्लेख नै गरेको थिएन। यहीकारण यो प्रकरणबारे सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म हल्ला–खल्ला भएको थियो।
सत्ताधारी दल नेपाली कांग्रेस नेता शेखर कोइरालाले त एक कदमअगाडि बढेर सुन तस्करीको जालोमा प्रधानमन्त्री पुष्पकमल दाहालकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन्। बिहीबार नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्ने दौरानमा नेता कोइरालाले राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराएर सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्नुले यस्तो शंका उब्जिएको बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने र थप फाइल खोल्दै जाने बताएका छन्।
कहिलेकाहीँ कुनै सिनेमा हेरिरहँदा केही भागहरू अस्वाभविक रूपमा अतिरन्जित लागे पनि सुन जफत गरिएपछि देखिएका, सुनिएका सूचनाबारे मनन गर्दा सिनेमाहरूमा देखाइने कतिपय कुरा त यथार्थमै आधारित हुने रहेछन् भन्ने धेरैलाई भान हुन थालेको छ।
प्रतिपक्षीको छानबीन समितीको मागका बीच अन्तत: १०० किलो सुन तस्करी अनुसन्धानको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने भएको छ।
क्विन्टल–सुन तस्करी संगठित रूपमा नै भएकाले यो प्रकरणको अनुसन्धान प्रहरीलाई दिनुपर्ने माग उठिरहेको थियो भने प्रहरी नेतृत्वले पनि यो घटनामा अनुसन्धानको जिम्मेवारी नदिइएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गरिरहेको थियो। चौतर्फी रूपमा प्रहरी यो अनुसन्धानमा कतै सहभागी नभएको भन्ने आवाज उठ्दै गर्दा सरकारले यो निर्णय लिएको हो।
हप्ताका अरू प्रमुख समाचार
- माओवादी केन्द्रीय समिति बैठक शुरू: प्रधानमन्त्री पुष्पकमल दाहालले बोलेको "हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन" भन्ने 'भाइरल' वाक्य बुधबार शुरू भएको यही बैठक को देन थियो। पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी विधान अनुरूप नचलेको भन्दै कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
- सबै नेता बिग्रिए भन्नु गलत: केही न केही भन्न रुचाइरहने एमाले अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता लेख, रचना सम्प्रेषित नगर्न साहित्यकारहरूलाई आग्रह गरेका छन्।
- रास्वपाको दबाबका कारण सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो: भर्खरै बिदेसिएका नागरिक फर्काउन १०० वटा जब्-भेकेन्सी घोषणा गरेका र आफ्नो निर्वाचन क्षेत्रमा ब्लु-बस सञ्चालनमा ल्याएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको बताएका छन्।
- प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस: संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ।
सुन प्रकरण र अन्य 'हार्ड न्युज'को छायाँमा पारेको एकदमै महत्त्वपूर्ण घटना थियो– सामाखुसी खोलामा बगेका बालकको शव दक्षिणकालीमा भेटिएको समाचार।
काठमाडौँको सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ। प्रहरीका भारी वर्षापछि सामाखुसी खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका साजनको बिहीबार शव भटिएको प्रहरीले जनाएको छ।
हरेक केही वर्षमा देशको राजधानीमा घट्ने यस्ता घटनाले राज्यले कसरी अव्यवस्थित तवरमा शहरी विकासका योजना बनाएको दर्साउँछ। सडक ठूला पार्ने नाममा र व्यापक शहरीकरणको दबाबका कारण मिचिएका खोलाहरूले प्राकृतिक निकास नपाएर बाढी आउँदा यस्ता घटना बढ्ने गरेका छन्। यस्तै मिल्दोजुल्दो प्रकृतिको घटना दुई वर्षअगाडि पनि घटेको थियो, जहाँँ कपनको एउटा खुला नालीमा खसेका १० वर्षीय बालक पाँच दिनपश्चात् ललितपुरमा मृत अवस्थामा भेटिएका थिए।
आशा छ सरकार, प्रतिपक्ष र समग्र सदनले सुनको अफरातफरीबाट फुर्सद पाएपछि यो विषयलाई पनि केही महत्त्व दिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
