एमाले सांसद भन्छन्– सुन तस्करी प्रकरणको सीआईबीले छानबिन गर्न सक्दैन

एमालेका सांसद लीलानाथ श्रेष्ठले सीआईबीले सुन तस्करी प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने धारणा राखेका हुन्। 

उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए। “यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह लागेको छ। हङकङ, चाइना लगायतको देखिइरहेको छ रेकर्डबाट। अनि त्यसलाई खेलाँची गरेर मजाक बनाइँदै छ। त्यस कारणले यस विषयले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रिइरहेको छ। सीआईबीले समाधान दिँदैन। त्यो सम्भव नै छैन। त्यस कारणले अविलम्ब उच्चस्तरीय आयोग गठनको विकल्प छैन,” उनले भने।

सुन तस्करी प्रकरणलाई सरकारले खेलाँची गरिरहेको उनले बताए। उनले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले सरकारले प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरूको ठीक ढंगले छानबिन गर्नुपर्ने बताए।

उनले राजस्व तथा सीआईबीले अन्तर्राष्ट्रिय गिरोहलाई झिकाउन नसक्ने भएकाले आफूहरूले उच्चस्तरीय आयोग गठनको माग गरेको पनि बताए। “अहिले उच्चस्तरीय आयोग गठन गर्नु भनेर हामी माग गरिरहेका छौँ। किन गरिरहेका छौँ त्यसको कारण छ नि। एउटा राजस्वको उपसचिवले अर्थमन्त्रीलाई झिकाउन सक्छ? गृहमन्त्रीलाई सीआईबीले झिकाउन सक्छ? राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ,” उनले भने।