सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ: विश्वप्रकाश शर्मा

कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब अवरोध खोल्नुपर्ने बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद् बैठकमा जवाफ दिनुपर्ने बताएका छन्। 

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ संसद् बैठकमा खोज्नुपर्ने बताएका हुन्। 

“संसद्मा मन्त्री र प्रधानमन्त्रीहरूले त्यहाँ पनि जवाफ दिनुपर्छ। यहाँ पनि बोलाउने अधिकार छ। नबोलाउने कुरै छैन। तर त्यहाँ जवाफ दिनुपर्छ। छानबिन गहिराइमा हुनुपर्छ,” उनले भने।

उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब संसद् सुचारु हुनुपर्ने बताए। उनले छानबिनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताए।

उनले विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको, सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उनले उल्लेख गरे। 

उनले कांग्रे‍सले भ्रष्टाचारको छानबिन गर्ने सन्दर्भमा मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नुपर्ने, निर्दोष फस्नुहुन्न दोषी कोही उम्किनुहुन्न भनेर निर्णय गरेको गरेको पनि स्पष्ट पारे।