आफ्नो ‘समाजवादी मोडेल’बाट यिनले सर्वप्रथम स्वयं शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई ‘डेलिभरी’ दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु र ओकल्नु हुनेछ।
वर्तमानमा समाज कोलाहलमय देखिन्छ र सुनिन्छ, तर सारमा सन्नाटा व्याप्त छ। भ्रष्टाचारशून्य समाज बनाउँछौ भन्दै कोही कुर्लिरहेछन्। कोही रनाहामा भाग दौड मच्चाइरहेछन्। कोलाहल, चित्कार र अनुनय विनय एकापट्टि हुँदा अर्कापट्टी मौनताले घेरिएको सन्नाटा छ र रन्थनिएको 'विचार' संकटग्रस्त शून्यतातर्फ फाल हालिरहेछ।
संसद् र मिडियाका माइकहरूमा ‘हामी नयाँ अरू थोत्रा, हामी सर्वगुणसम्पन्न अरू बेकामे, हामी युवा अरू वृद्ध, हामी कामयाबी अरू अकाम, हामी जनताका सच्चा प्रतिनिधि अरू झूटा भन्दै घोक्रो फुल्याउने एकातिर; हामी परिपक्व तिमी आलोकाँचो, हामी ज्ञानी तिमी मूर्ख, हामी स्थापित तिमी अल्लारे, हामी मोटा तिमी सुन्निएका, हामीले जनता नझुक्क्याउने तिमीहरू जनता–ढँटुवा’ भन्दै कुटिल ओठे हाँसोसहित कर्कसपूर्ण दोहोरी र सवाल–जवाफ चलिरहेछ।
निर्णायक जनता भने अरुचिकर जुहारी प्रतियोगिता बेचैनीको हाई-हाई गर्दै सुन्न बाध्य छन्। संसदीय शासनप्रणालीको विरोधी शक्तिको पनि रोइलो पनि उस्तै छ। कोही मार्क्सवाद 'डेट एक्सपाएर' भइसक्यो भन्दै संसद्वादीहरूसँगै गला मिलाउँदै मोर्चाबन्दीको 'हनिमुन'मा मस्त–व्यस्त छन् त कोही माइतीघर मण्डलका थोत्रा माइक र प्रेस–वक्तव्यलाई सामाजिक सञ्जालका भित्तामार्फत जारी गर्दै क्रान्तिको 'कटुवाले उर्दी' लगाइरहेका छन्, बौद्धिक विलासिता र आत्म–मुग्धतामा व्यवस्थाविरुद्ध दावानल सल्काइरहेछन्। यसो भन्दै गर्दा विचार शून्यतामै नेपाल गुज्रिएको छ भन्नेचाहिँ पक्कै होइन, जुन वैज्ञानिक नियमको सिद्धान्तले सम्भव हुँदा पनि हुँदैन। माथिका दुई परस्पर विपरीत विचारहरूको द्वन्द्वमा 'अन्डर–करेन्ट' अर्थात् अन्तरधार विचारहरू उत्पादन र प्रकटीकरण भइरहेकै छन्, तर त्यसको गति र स्थिति धिमा र स्खलित छ।
लोकरिझ्याइँको रजगजमय राजनीति
सन् १९६० को उत्तरार्धबाट चर्चा र बहसमा आएको लोकरिझ्याइँतन्त्र भूमण्डलीकृत भई हाल चरम उत्कर्षमा पुगेको छ। लोकरिझ्याइँवादबारे जर्मन राजनीतिक दार्शनिक एवं राजनीतिक विचारका इतिहासकार जन–वर्नर मुलरले 'लोकरिझ्याइँवाद के हो?' भन्ने पुस्तकमा 'लोकरिझ्याइँवाद कुनै सिद्धान्त नभई केबल अलग दाबीहरूको समूह भएको, तर लोकरिझ्याइँवादीहरूले त्यसलाई फरक र विशिष्ट तर्क मान्ने गर्दछन्' भन्ने मत प्रकट गरेका छन्।
वास्तवमा लोकरिझ्याइँको राजनीतिले जनतालाई क्षणभंगुर 'पिसाबको न्यानो' सिवाय अरू कुनै राहत हुँदैन, जसलाई विश्वका तत्कालीन र समकालीन विभिन्न राजनीतिक घटनाक्रमले पुष्टि गर्दछ। भेनेजुएलाका तत्कालीन राष्ट्रपति ह्युगो शावेजको मृत्युपछि नयाँ राष्ट्रपतिका रूपमा सन् २०१३ देखि उदाएका निकोलस मादुरोले आर्थिक संकटविरुद्ध लड्न देशका विद्युतीय सामग्रीका भण्डारमा सैनिक परिचालन गरी कम मूल्यको स्टिकर टाँस्न लगाए, तर उक्त कदमले आर्थिक स्थिति झनै विकराल बन्न पुग्यो। लहडको भरमा लोकलाई रिझाउने इच्छाले यी र यस्तै विभिन्न तरिकाले उनीद्वारा चालिएका कदमले भेनेजुएलामा निम्तिएको आर्थिक संकट आज बढ्दो क्रममा छ।
नेपालको हालको राजनीतिक परिवेशलाई दृष्टिगोचर गर्दा पनि लोकतन्त्रको ढलिमलीभन्दा लोकरिझ्याइँतन्त्रको हालीमुहालीमा बढोत्तरी भएको पाइन्छ। जनतालाई लोकतन्त्र र लोकरिझ्याइँतन्त्रमा के फरक छ भन्ने प्रश्न सोध्यो भने पाण्डव सुनुवारले उति बेला रेडियो नेपालमार्फत लोकउक्तिकै स्तरमा चर्चित बनाएको विज्ञापन 'हात्ती र हात्ती छाप चप्पल'को दृष्टान्तमय उत्तर आउला।
एक वर्ष पहिले स्थानीय, प्रादेशिक र संघीय चुनावहरूको नाटक मञ्चन गरेका लोकतन्त्रका हिमायती हौँ भन्ने राजनीतिक दलहरूले एक्लाएक्लै चुनावी रण मैदानमा उत्रने आँटसम्म गरेनन्। सार्वभौम जनता र आफ्ना कार्यकर्तालाई भोट साटासाट गर्ने चुनावी गठबन्धन तयार पार्दै नांगो नाच प्रदर्शन गरे। उक्त नाच नाच्नेलाई भन्दा हेर्नेलाई लाज भयो र दोस्रो चुनावमा अर्को नयाँ नाच हेर्न जनता फर्किए र नांगो नाच्नेहरू झसंग तर्सिए। त्यही तर्सिएको झोकमा दौरा–सुरुवाल लगाएकाले जित्ने र नलगाएका आफूहरूले हार्ने नतिजा आएको हुँदा अब उपरान्त उक्त पोसाक लगाएर जनतालाई रिझाउँदै भोट थुप्राउने ‘क्रान्तिकारी कमरेड’ले गरेको भीष्मप्रतिज्ञाले लोकतन्त्रको कुठाराघात र लोकरिझ्याइँतन्त्रको पक्षपात गरेको ठहर्छ।
भौतिकवादी नेताले गत जुन २ तारिखमा भारतको मध्य प्रदेशको उज्जैनमा ज्योतिर्लिंग महाकालेश्वर मन्दिरमा गरेको पूजापाठमा भगवानसँगको भाकल–कसम र पाएको आशीर्वाद यही थियो होला, 'अब लोकरिझ्याइँवादी शरणम्, क्रान्तिकारी विचार भस्म- हरणम्'। गोरेबहादुर खपांगीमार्गी भक्तजनहरू र मार्ग निर्देशक खपांगीमा पहिचान गर्ने 'ग्रेलाइन' यही एउटा हो, उनी राजा-निगाहवादी थिए, यी 'कमरेड'हरू लोकरिझ्याइँवादी भए। ऊबेला राजतन्त्र थियो, योबेला गणतन्त्र छ।
सन् १९६७ ताका भारतको पश्चिम बंगालको एक सानो गाउँ 'नक्सलबाडी'बाट प्रारम्भ भएको कम्युनिस्ट विचारधारामा आधारित 'नक्सलवाद'बाट प्रभावित यसै क्षेत्र आसपासका पूर्वी नेपालका जुझारु झापाली युवाहरूको पहल र प्रयत्नले करिब चार वर्षको अन्तरालमा विसं. २०२८ मा 'झापा विद्रोह'को शुरूआत भएको थियो। सोही विद्रोहका उत्पादन तथा उतिखेरका क्रान्तिकारी नेता अन्ततः धार्मिक एवं आध्यात्मिक फाइँफुट्टे गफ 'टाइप'का प्रवचन दिन कहलिएका छन्। उनका 'छोराछोरी'ले उनका उडन्ते प्रवचनलाई बडो श्रद्धाभावले सुन्ने गरेका होलान्, तर टिकटके बाबा–माताका प्रवचन र तिनमा सारमा फरक छैन।
ठोरीवाला राम, सप्तकोशीको स्टीमरवाला पानीजहाज, पूर्वपश्चिम जोड्नेवाला रेल, घरघरमा ग्यास लाइनवाला चुलो, काठमाडौँको अग्लो सेतोवाला भ्यु टावर, नेपालका अग्ला पहाडी चुचुरोमा ठडिएका सिमेन्टवाला भ्यु टावर आदि इत्यादि यिनै सर्वज्ञानी बाले आफ्ना सन्तान-दर सन्तानका निम्ति सिर्जना गरिदिएका निधिहरू हुन्! लोकलाई रिझाएर भोटको खेती गर्ने यस्ता फन्डाहरू यति छिटै असफलसिद्ध भयो कि 'मिसन ग्रासरुट'ले ४० प्रतिशत मात्रै संगठित सदस्यहरूले सदस्यता नवीकरण गरेको तथ्य बाहिर आयो।
सबैभन्दा ठूलो दलका सभापति महोदयको हालत उस्तै चौपट छ। उमेरले युवा भनिएकाले दिनहुँ र्याखर्याख्ती पारेका छन्। करिब नौ महिनापछि जेनतेन केन्द्रीय कमिटीको बैठक आह्वान गरी प्रत्यक्ष प्रसारण गर्ने चेष्टा गरेको यो दलको उक्त बैठकले आफ्नो विचारविहीनतालाई झनै उदांगो पारिदियो। पूर्वका एक 'केस'ले कोशी प्रदेश नामकरणका विरुद्धमा उत्पीडित जनताले उठाएको पहिचानवादी मुद्दाको पक्षमा आवाज बुलन्द पार्दै गर्दा 'दाइ'को रिसले सीमा काट्यो। दाइ रनाहामा पर्दै भाइलाई झपार्दै बस्न बाध्य पारेको दृश्य हेर्दा हामी घरमा बसेका 'पर्यवेक्षक'लाई बडो लज्जाबोध भयो, तर त्यहाँ उपस्थित 'भाइबहिनी'को कुनै प्रतिक्रिया सुन्न हेर्न पाइएन। उक्त सुनसान र सन्नाटा नै विचारविहिनता हो।
बडा दाइ र भाउजूको भनिएको सो पार्टीका भाइबहिनी र देवर–देउरानीलाई रिझाउन बडो सकसपूर्ण र कष्टसाध्य देखिन्छ, तर हकारेर या थर्काएर भए तापनि दाइभाउजूहरूले आफ्नो साख जोगाएकै छन्। अन्य पार्टी र पार्टीका मुखियाहरू मुखर तथा छुच्चो तथा क्षूद्र अभिव्यक्ति दिएर लोकरिझ्याइँमा अभ्यस्त भएको देखिन्छ, तर दाइ नबोलेर शान्त, सुशील र अनुशासित बनेर लोकरिझ्याइँवालाभन्दा सहज रूपमा 'पार्टी' सञ्चालन गरिरहेका छन्, किनकि उनलाई अब छैटौँ पटक देशको प्रम हुनु छ। ज्योतिषले सात पटकसम्म प्रम हुने भविष्यवाणीलाई गलत प्रमाणित गराउन पनि त भएन!
'संवैधानिक समाजवाद'को अभ्युदयमार्फत नेपाली भूमिमै नयाँ समाजवादी मोडेल प्रतिपादन गरेको नयाँ पार्टी यतिखेर लोकको मुटुमै बसेको छ। विद्यमान राजनीतिक दलप्रतिको जनताको रिस, निराशा र रनाहाको परिणामले लोकरिझ्याइँवादीहरूको जन्म हुन्छ भनिन्छ। डच सामाजिक वैज्ञानिक कस मुड्डे र क्रीस्टोबल रोभिरा काल्टवसरले 'लोकरिझ्याइँवाद–एक संक्षिप्त परिचय' नामक पुस्तकमा भनेका छन्, 'अलोकतान्त्रिक उदारवादका निम्ति अनुदार लोकतान्त्रिक जवाफ नै लोकरिझ्याइँवाद हो।'
कहिलेकाहीँ लाग्छ, नयाँ भनिएकाहरूको चर्को आवाजको बलले प्रतिकिलो चामलको भाउमा एक रुपैयाँ मात्रै घटाइदिए पनि निराश र आक्रोशित जनतामा आशाको दियो बल्ने थियो।
मिडियाकर्मी सेलिब्रेटी भई सरकार र नेताको विरोध गर्दै नेता बनेका यी पात्रले आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरेको तडकभडक र होहल्लाले अभावमा रन्थनिएका जनताको पेट शान्त पार्नेवाला छैन। आफ्नो 'समाजवादी मोडेल'बाट यिनले सर्वप्रथम स्वयम् शिक्षित, विश्वस्त र आश्वस्त भएर जनतालाई 'डेलिभरी' दिने काम गर्नु वाञ्छनीय देखिन्छ, नत्र भोलि जेलेन्स्कीलाई जस्तै सत्ता निल्नु र ओकल्नु हुनेछ।
उपरोक्त प्रतिनिधि पात्रहरूको भन्दा पनि चर्चा गर्न खोजिएको विषयचाहिँ प्रवृत्ति र उक्त प्रवृत्तिद्वारा प्रशिक्षित हुनेहरूमा उत्पन्न हुने स्वत्वको हो। नेताद्वारा कार्यकर्ता र कार्यकर्ताद्वारा जनता प्रशिक्षित हुँदै जाने र सोही अनुरूपको स्वत्व निर्माण बन्दै जाने प्रक्रिया निरन्तर चलिरहने हुँदा सही वैचारिकीसहितको स्वत्व निर्माण गर्दै जानु पर्छ।
केही झिल्का
निराशाका पहेलुहरूभित्र विभिन्न आशाका झिल्का दनदनाइरहेछन्। मधेश प्रदेश र पश्चिमका थारूहरूमा प्रकट भएको राजनीतिक जागरण उत्साहप्रद छ, तर वैचारिक दृष्टिकोणलाई भने उनीहरूले स्पष्ट पार्नु अत्यावश्यक देखिन्छ। पूर्वका राई र लिम्बूहरूले खस शासक वर्ग र यिनका मतियारहरूको ऐठन सहेर बसेनन् जुर्मुराए, उफ्रिए र कराए। मधेशमा जस्तै आफ्नो पहिचानका निम्ति शहीद हुन तयार भए। केही महिनाअघि मात्रै लिम्बुवानको पहिचान र आत्मसम्मानका लागि लड्ने क्रममा लाजेहाङ लिम्बू शहीद बने।
एमसीसी परियोजनाले उठीबास लाउन खोजेको विरोधमा लप्सीफेदीका जनताको प्रतिरोध होस् या एक वकिलले अपराधशास्त्री लोम्ब्रोसोको नाम भजाएर दिएको विवादास्पद अभिव्यक्तले जुर्मुराएको र आक्रोशित उत्पीडित तामाङ जातिको पहिचानवादी वैचारिक जागरणको लप्का होस्, यिनले वैचारिक झिल्काको संकेत दिन्छ। विचारको महत्ता स्थापित गर्न नसक्दा र विचार कमजोर हुँदै जाँदा नै 'पपुलिस्ट'हरू जन्मेका हुन्। लोकरिझ्याइँवादको बढ्दो संक्रमणको 'एन्टिडोट' हो विचार। तसर्थ, हामी सबैले विचार निर्माणमै निरन्तर काम गर्नु आवश्यक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
