परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको छ : मन्त्री साउद

मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका छन्।

काठमाडौँ– परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्ने गरी अगाडि बढाएको बताएका छन्।

आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडि बढाइएको बताएका हुन्। उनले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि बताए।

“यो सरकार गठन भएपछि कतिपय विगतको सरकारले पनि यसमा मिहिनेत गरेको छ, परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउने, राष्ट्रिय एकतालाई मजबुत गर्ने गरेर यो सम्बन्धलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई परस्पर लाभका आधारमा पनि सम्बन्धलाई विकास गर्ने गरेर सरकारले अगाडि बढिराखेको छ,” उनले भने।

मन्त्री साउदले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको बताए। मन्त्री साउदले पार्टीहरूको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिए। “विदेश नीति पार्टी–पार्टीको छुट्टै हुने कुरा होइन कि यसमा सबै पार्टीहरूका बिचमा सहमति हुन सकोस्। हामी एकै ठाउँमा पुग्न सकौँ भनेर कोशिश छ,” उनले भने।

उनले अरू पार्टीहरूको त्यस्तो अपेक्षा भए सरकार त्यसमा दृढतापूर्वक, उदारतापूर्वक सबैका विचारलाई राष्ट्रिय सहमतिका लागि ग्रहण गर्न तयार रहेको स्पष्ट पारे।

मन्त्री साउदले सरकारले बायोमेट्रिक लगायतका कामहरू सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताए। उनले सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागिपरेको उल्लेख गरे।

“जुन ठाउँबाट सेवा सुविधा राज्यले प्रबन्ध गर्नुपर्ने हो, एकै ठाउँबाट स्तरीय दिन सक्यौँ भने समयको बर्बादी गर्नुपर्दैन। र प्रशासनिक काम पनि सहजीकरण हुन्छ। यसका लागि मैले पासपोर्टमा सहजीकरण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,” उनले भने।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चिन भ्रमण सेप्टेम्बरको तेस्रो चौथो हप्तातिर गर्ने गरी तयारी गरिरहेको जानकारी दिए। उनले छिमेकी देशहरूका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युरोपियन युनियनहरूसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए।