धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासमा राजेन्द्र शाक्यसहित सात खेलाडी दोस्रो चरणमा प्रवेश

घरेलु स्क्वासको सबैभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ।

काठमाडौँ– धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास राजेन्द्र शाक्य, रेसुभ चुरीवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा पुगेका छन्। 

आइतबारबाट शुरू भएको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराएर अगाडि बढे भने अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजित के. सिंह (११–५, ११–५, ११–६) र रत्नकाजीले जुनिल शाक्य (११–४, ११–२, ११–३) लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलको यात्रा तय गरे।

प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्‍यो। प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ ले हराए। राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पारे। 

राजेन्द्र भने वाकओभर प्राप्त गरी अगाडि बढेका हुन्। आश्विन तोडीले खेल छोडेपछि राजेन्द्र सीधै दोस्रो चरणमा पुगे। पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आ–आफ्नो खेल जितेर पहिलो चरण पार गर्नुभयो । सुरेशले अनिल बज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले हराए। अजय केशरले पनि बल्लतल्ल महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गरे। 

यसैगरी, इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०–१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाए। महिला खुल्ला र ब्वाइज यु–१९ का खेलहरू सोमबार मात्र शुरू हुनेछन्। घरेलु स्क्वासको सबभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ। यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत आयोजना भएको हो।