संसदको अवरोध हटाउने विषयमा सभामुखले शीर्ष दलका प्रमुख नेतासँग छलफल गर्ने

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख नेतालाई बैठकका लागि बोलाएका छन्।

फाइल तस्वीर

काठमाडौँ- सुन तस्करी प्रकरणालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब दुई सातादेखि गरिरहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सोमबार शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।

सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बैठकका लागि बोलाएका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाइएको बैठकमा प्रमुख सचेतक र सचेतकसहित आउन घिमिरेले आग्रह गरेका छन्। 

साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएका छन्। यसअघि अवरोध खुलाउन सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए। 

प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए। आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरूले दिएका थिए।

दलहरूबीच सहमति नजुट्दा संसदीय समितिका सभापतिहरूको चयन हुन पनि सकेको छैन।