ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सर्वोच्च अदातलले मन्त्रिपरिषद्को निर्णयमा संलग्नहरूमाथि पनि अनुसन्धान गर्न आइतबार नेपाल प्रहरीसमेतलाई आदेश दिएसँगै तत्कालीन प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरू अनुसन्धानको दायरामा परेका हुन्।

काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै तीन पूर्वमन्त्रीको खोजी भइरहेको प्रहरी स्रोतले पुष्टि गरेको छ। पूर्वराज्यमन्त्री सञ्जयकुमार साह भने २०६९ को जनकपुर बमकाण्डमा मुख्य दोषी ठहर कैद सजाय भोगिरहेका छन्।

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्को निर्णयमा संलग्नहरूमाथि पनि अनुसन्धान गर्न आइतबार मात्र नेपाल प्रहरीको नाममासमेत आदेश जारी गरेको थियो। न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषद्का पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो। यो आदेशसँगै निर्णय प्रक्रियामा संलग्न तत्कालीन प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने कानूनी दायित्व प्रहरीमाथि आएको थियो। 

सर्वोच्चले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्नलाई पनि अनुसन्धान गर्न आदेश दिएसँगै तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथिसमेत अनुसन्धान गर्ने बाटो खुलेको छ। २०७६ माघ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो।

अख्तियारले त्यसबेला १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्दा ११० जनालाई सजाय र बिगोदाबीसहित तथा ६५ जनाको हकमा जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाएको थियो। अख्तियारको अनुसन्धानपछि सीआईबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयलाई फाइल बुझाए पनि सरकारी वकिलको कार्यालयले सीआईबीलाई नै फाइल फिर्ता पठाइदिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पहिलो अनुसन्धान प्रतिवेदन बुझाएको दुई वर्षपछि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा गत असार १२ गतेदेखि पुन: अनुसन्धान गरिरहेको छ। त्यसक्रममा सीआईबीले यो प्रकरणमा मुछिएका व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ।