कथाकार राजेन्द्र पराजुलीको ‘जन्तरमन्तर’ बजारमा

पराजुलीको यो छैटौँ कथासंग्रह हो। यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासंग्रह प्रकाशित भएका छन्।

काठमाडौँ– कथाकार राजेन्द्र पराजुलीको नयाँ कथासंग्रह ‘जन्तरमन्तर’ बजारमा आएको छ। पराजुलीको यो छैटौँ कथासंग्रह हो।

यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासंग्रह प्रकाशित भएका छन्। जन्तरमन्तरमा १५ वटा कथा छन्।

देशको राजनीति, दशक लामो सशस्त्र द्वन्द्व, उत्तरद्वन्द्वका सामाजिक–आर्थिक र राजीतिक प्रभावजस्ता विषयलाई उनले कथामा मिहिन ढंगमा उठाउँदै आएका छन्। उनका कथाले सामाजिक विद्रुपता, विभेद, जनताका अधूरा सपना र सीमान्तकृत–किनारीकृत नागरिकका पीडालाई दृश्यमा उतार्छन्।

आफू बाँचेको समय, जन्मथलो काँठ र शहरका चित्र पनि उनका कथामा पढ्न पाइन्छ। शहरले थिचिँदै गएको काँठबारे उनले आफ्ना कथामा विस्तृत रूपमै उठाउँदै आएका छन्। 

६ कथासंग्रहसहित पराजुलीका अनायिका उपन्यास भ्रष्ट संवेदना कवितासंग्रह र कोटेश्वरको केटो संस्मरण प्रकाशित भइसकेका छन्। पत्रकारितामा आबद्ध उनका कथामा पेसागत विकृतिसमेत केलाइएका हुन्छन्।

जन्तरमन्तर शिखा बुक्सले बजारमा ल्याएको हो। यसको मूल्य ३७५ रुपैयाँ छ।