मोरङ-३ (क) का लागि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। 

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।

आयोगको निर्णयअनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ।

आयोगले सूचना जारी गर्दै भनेको छ, “मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति असोज २३ देखि निर्वाचन कार्यक्रम सञ्चालन भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न समेत प्रदान भइसकेको अवस्था रहेको छ”, आयोगले भनेको छ, “यसैबीच मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयबाट मिति २०७९/०७/२३ को पत्रमार्फत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नंं। १ बाट प्रदेश सभाका लागि नेपाली कांग्रेस पार्टीका उम्मेदवार श्री शेखरचन्द्र थापाको मिति २०७९/०७/२३ गते मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारका लागि निर्वाचन कार्यक्रम तय गरी पठाइदिन अनुरोध भई आएको सन्दर्भमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार देहाय बमोजिम गर्ने।”