प्रतिनिधिसभाको बैठक सूचना टाँसेर मंगलबारसम्म स्थगित

प्रतिनिधिसभाको सोमबारका लागि डाकिएको बैठक सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित भएको छ।

काठमाडौँ– प्रतिनिधिसभाको सोमबारका लागि डाकिएको बैठक स्थगित भएको छ। सोमबार अपराह्न ४ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो।

संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूबीच छलफल गरिरहेको भए पनि निष्कर्ष निस्किन नसकेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो। संसद् सचिवालयले सूचना टाँसेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ।

साउन १० गते बसेको प्रतिनिधिसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित भएको थियो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेका सांसदहरूले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको हो।

संसद् बैठक सुचारु गराउने मुख्य अजेन्डासहित बनाएर सभामुख घिमिरेले सोमबार प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छलफल गरिरहेका छन्। सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको शीर्ष नेताको बैठकमा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि बिनानिष्कर्ष सकिएको थियो।

बैठकमा एमालेले सुन प्रकरण छानबिनका लागि सत्तापक्ष सहमत भए मात्रै संसद् बैठक अगाडि बढ्ने अडान राखेको थियो। सत्तापक्ष आफूहरूको मागमा सहमत भए मात्रै संसद् बैठक सुचारु हुने कुरा आफूहरूले सत्ता पक्षलाई भनेको र उनीहरूले त्यसबारे एक घण्टाको समय माग गरेकाले बैठक अपराह्नसम्मका लागि स्थगित गर्नुपरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। अपराह्नपछि बसेको दोस्रो चरणको बैठकमा पनि नेताहरूबीच ठोस सहमति नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो। 

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए। प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटकभन्दा बढी छलफल गरेका थिए।