सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न ढाकेको प्रधानमन्त्रीसहित शीर्ष नेताबीचको बैठक विनानिष्कर्ष टुंगिएको छ।
काठमाडौँ– सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने अजेन्डा राखेर ढाकेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको बैठक विनानिष्कर्ष टुंगिएको छ।
सभामुख घिमिरेको पहलमा सोमबार बानेश्वरमा बसेको प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि बैठक विनानिष्कर्ष सकिएको हो।
एमालेले त्रिभुवन विमानस्थलबाट बरामद सय किलो सुन तस्करी प्रकरणको छानबिन उच्चस्तरीय छानबिन समिति बनाएर गर्नुपर्ने अडान राख्दै सदन अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गतेयता सदन पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको छ। सोमबारको बैठक पनि संसद् सचिवालयले सूचना टाँसेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जनाएको छ।
लामो समयदेखि सदन अवरुद्ध भएपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई डाकेर छलफल गरेका थिए। सोमबार दुई चरणमा छलफल हुँदा पनि ठोस निष्कर्ष निस्किन नसकेपछि मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा सभामुखसहित तीन शीर्ष दलका नेताहरूबीच छलफल हुने भएको छ।
बानेश्वरमा बसेको शीर्ष नेताहरूबीचको बैठकपछि सभामुख घिमिरेले संसद् बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गरेको तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न नसकेको बताए। उनले अर्को बैठक मंगलबार बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने पनि जानकारी दिए।
“आज संसद् बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो। तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन। भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ। आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठकअगावै दलहरूबीच सहमति हुनेछ।”
संसद् अवरोध हुँदा जनताका आवाज रोकिएको भन्दै उनले सदनको अवरोध खुलाउन सहमतिको विकल्प नभएको प्रस्ट पारे। उनले सदनको अवरोध खुलाउनका लागि नेताहरूलाई अधिकतम लचिलो बन्न आफूले सकारात्मक रूपमा दबाब दिइरहेको पनि बताए।
“म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु। यही अनुरूप मैले सूचना टाँसेर पटक–पटक बैठक स्थगित गरेको हो। तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन। आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौँ,” उनले भने।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थिति रहेका थिए। त्यस्तै, बैठकमा तीन दलका प्रमुख सचेतकहरू पनि उपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
