पहिरोका कारण कान्ति लोकपथ र मदन भण्डारी राजमार्ग अवरुद्ध

दुवै स्थानमा वर्षा नरोकिएकाले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।

फाइल तस्वीर

बागमती– मकवानपुरमा अविरल वर्षासँगै पहिरो जाँदा हेटौँडा–काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन्।

मंगलबार राति खसेको पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा पहिरोले सडक पुरेपछि अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उक्त क्षेत्रमा वर्षा नरोकिएकाले तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

त्यस्तै, गएराति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्ति लोकपथ सडकखण्डमा वर्षाका कारण पहिरो खसेर दुवैतर्फ बाटो अवरोध भएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा पहिरो हटाउनका लागि सडक विभागसँग  समन्वय गर्दा जोखिमका कारण पहिरो हटाउन नसक्ने जानकारी प्राप्त कार्कीको भनाइ छ।