बेनी–जोमसोम सडकमा पहिरो, सवारी र यात्रुलाई जोखिम

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले  समयमै गन्तव्यमा पुग्न पाएका छैनन्।

फाइल तस्वीर

गलेश्वर–‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ। कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढी–पहिरोका कारण यो सडकमा ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ।

२०६४ सालमा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको उक्त सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नाका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ।

वर्षाले गर्दा नियमित रूपमा पहिरो झरेकाले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरूलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कँदै गरेका कृष्ण शर्माले जानकारी दिए।

रघुगंगा गाउँपालिका वडा नं १ र २ को सिमानाबाट झरेको पहिरोले बैसरीमा सडक अवरुद्ध हुने गरेको छ। बैसरीमा दैनिकजसो खस्ने पहिराले उक्त सडकको यातायात सेवा बन्द हुने गरेको छ। सडक माथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो। सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले  समयमै गन्तव्यमा पुग्न पाएका छैनन्।

सडक माथिको करिब ४०० मिटर चौडाइ र ५०० मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ। पाखोबाट खस्ने ढुंगा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ। गत वर्षदेखि बैसरीमा पहिरो खस्न शुरू गरेको हो।

वैकल्पिक रूपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ। जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग आएका छन्। वैकल्पिक सडक पनि जीर्ण, साँघुरो र जोखिमयुक्त छ।

अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको नभएको उनको भनाइ छ। आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेको र ठाउँ–ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले  यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरोले  बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ। यो सडक २०६४ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो।

उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत पाँच वर्षदेखि स्तरोन्नति र तीन वर्षदेखि कालोपत्रको काम शुरू भएको छ। भीरकोट र बाँदरजुंगे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो। सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताए।

बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ। यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि योगदान पुग्ने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताए।

“प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरूको ‘लाइफ इन्ड’  हुने गरेको छ,” रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, “२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै छ।”