कस्तो रहनेछ बुधबारको मौसम?

बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। 

काठमाडौँ– नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ। जसका कारण देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

राती देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। 

यस्तै, कोशी र मधेशका थोरै स्थानमा हावाहुरी समेत चल्ने महाशाखाको भनाइ छ।