मकवानपुर पहिरो: २ जनाको शव भेटियो, ३ अझै बेपत्ता

प्रहरीका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिलाको शव फेला परेको हो। यससँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

फाइल तस्वीर

मकवानपुर– बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये बुधबार बिहान थप दुई जनाको शव फेला परेको छ।

बेपत्ता दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए। 

उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिलाको शव फेला परेको हो। यससँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

मंगलबार वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा उनीहरू बेपत्ता भएका थिए। सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार साँझ जीवितै उद्धार गरिएको थियो।

उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो। घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त पहिरामा परेका तीन जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन्। 

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको डीएसपी कार्कीले बताए। पहिरोमा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मंगलबार नै मृत्यु भएको थियो।