आँखा पाक्ने रोग फैलिएपछि बाँकैमा विद्यालय बन्द

बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्।

प्रतिकात्मक तस्वीर

काठमाडौँ– बाँकेमा आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ।

बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्।

बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ। विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए। 

नेपालगन्जका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने संक्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताए। शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन्। 

आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन्। उपमहानगरका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र उपमहानगरले सञ्चालन गरेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका पाइएको छ। 

बाँकेको खजुरा गाउँपालिकाले पनि बुधबारदेखि चार दिनसम्म विद्यालय बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए।