एमालेको अवरोधपछि स्थगित भयो संसद्, अर्को बैठक २६ गते

पटक–पटक आग्रह गर्दासमेत एमाले सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन्। अर्को बैठक साउन २६ गते बस्नेछ।

काठमाडौँ– एमाले सांसदहरूले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।

बुधबार बैठकको शुरूमा नै सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न दिएका थिए। त्यसपछि सत्तापक्षका सांसदले पनि बोल्न समय गर्दै उठेर विरोध जनाए।

विरोधकाबीच थापाले आफ्नो कुरा राखेका थिए। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्‌मा तस्करकै संरक्षण हुनेगरी अभिव्यक्ति दिएको र छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने थापाले बताए। 

तर, सभामुख घिमिरेले थापालाई समय सकियो भनेपछि एमाले सांसदहरू नाराबाजीमा उत्रिएका थिए। पटक–पटक आग्रह गर्दासमेत एमाले सांसदले नमानेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्। अर्को बैठक साउन २६ गते बस्नेछ।

१०० किलो सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै एमालेले संसद्‌मा अवरोध गर्दै आएको छ।