रास्वपाको तत्काल प्रतिकार्य समूहलाई पहिरो पन्छाउन स्वीकृति नदिइएको स्थानीय प्रशासनको भनाइ

नारायणगढ–मुग्लिन सडक खण्डमा कुनै पनि दल वा संगठनलाई पहिरो पन्छाउन सहयोग नमागिएको र सहयोग गर्न स्वीकृति पनि नदिइएको चितवनको प्रजिअले सूचना जारी गरेर स्पष्ट पारेका छन्।

फाइल तस्वीर

भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ–मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) प्रति स्थानीय प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। यस्ता कुनै पनि समूहसँग सहयोग नमागिएको र पहिरो पन्छाउन स्वीकृति पनि नदिइएको प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार सूचना जारी गर्दै कुनै अमुक दल तथा सोअन्तर्गतका संगठनसँग पहिरो पन्छाउन सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको जनाएका छन्। उक्त सडक खण्डअन्तर्गत कालीखोलामा मंगलबार लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको थियो। त्यहाँ स्थानीय प्रशासन, प्रहरीको टोली तथा राज्यका अंगको पहलमा पहिरो पन्छाइ सडक सञ्चालन गरिएको पैडेलले बताएका छन्। 

अहिले ट्राफिक व्यवस्थापनको कार्यसमेत नियमित रूपमा भइरहेको जनाउँदै प्रजिअ पौडेलले यस कार्यका लागि सरकारी निकाय सक्षम रहेको बताएका छन्। “प्रकृतिक विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरु सक्षम रहेको जानकारी गराउँदछौँ। ठूला विपद्का घटनामा राजनैतिक दल, नागरिक समाजलगायत सर्वसाधारणबाट समेत सहयोग लिन सकिने छ”, सूचनामा भनिएको छ, “यसरी सहयोग लिँदा कुनै दल विशेष वा संगठनको परिचयपत्रबिना स्वयम् सेवामा खटिने व्यक्तिले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृत लिइ सुरक्षाकर्मीसँगको समन्वयमा उद्धार कार्यमा खटिन सक्ने छन्।”

रास्वपा आबद्ध युवाले आरएटी लेखिएको सञ्चार उपकरण (वाकीटकी)सहित फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकामा पहिरो पन्छाउँदा प्रयोग गरिएका उक्त सामग्री स्वीकृति र दर्ता भए/नभएको समेत छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको सूचनामा जनाइएको छ । 

रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ मा निर्वाचित भएको १०० दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताएका थिए। सोही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको बताइएको थियो। सोही दिन मोबाइल क्लिनिकमा प्रयोग भएको एम्बुलेन्स विवादमा परेपछि सम्बन्धित अस्पताललाई नै फिर्ता गरिएको थियो।