यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालकको प्रदर्शन

निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायतका नौ बुँदे माग राखेर प्रदर्शन गरेका छन्। 

काठमाडौँ– नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालकले प्रदर्शन गरेका छन्। विभिन्न माग राख्दै सडकमा ट्याक्सी तेर्स्याएर उनीहरूले प्रदर्शन गरेका हुन्।

निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौँ उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन तथा साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका नौ बुँदे माग राखेर आन्दोलन गरेका हुन्।

निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरूको असन्तुष्टि रहेको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलीपकुमार श्रेष्ठले बताए।

उक्त कार्य यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरीत भएको श्रेष्ठको भनाइ छ।

यस्तै, अंग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको जीपीएस नम्बर कायम गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानून खारेज गर्नुपर्ने जस्ता माग चालकको छ।