कैलालीका बाढीपीडितको सडकमा बास

उद्धारकर्ता खेमराज पाण्डे बाढीका कारण विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बढी समस्या भइरहेको बताउँछन्।

बाढीले घर डुबानमा परेपछि हुलाकी राजमार्गमा टहरो निर्माण गरी बस्दै कैलालीको भजनी नगरपालिकाका विस्थापित स्थानीय। तस्वीर : दुर्गा देवकोटा/रासस

टीकापुर– सोमबारदेखिको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ। बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन्। बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन्। भजनीमा बाढीका कारण दुई हजार ३०० परिवार विस्थापित भएका ९०० बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ।

टीकापुर नगरपालिकामा ३१६ घर डुबानमा परेका छन्। वडा नम्बर ६ मा २२६ र ७ का ९० गरी ३१६ घर डुबानमा पर्दा २३० परिवार विस्थापित भएका छन्। उनीहरूलाई उच्च घर, उच्च सडक तथा आफन्तकामा बस्ने व्यवस्था गरिएको छ।

जानकी गाउँपालिका–४ र ७ मा बाढीले असर गरेको छ। त्यहाँ ११५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरूलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको छ।

बाढीले सबैभन्दा बढी क्षति भजनीमा गरेको छ। भजनीकी राजकुमारी चौधरीको परिवार तीन दिनदेखि हुलाकी सडकमा छ। उनीहरू बच्चासहित सडकमा छन्। सडकको बसाइँ कष्टकर भएको उनी बताउँछन्। “तीन दिनदेखि पानी मात्र खान पाइएको छ, घरमा भएको सबै खाद्यान्न बाढीमा भिज्यो होला,” उनी भन्छन्, “बोकेर ल्याउन पनि पाइएन, अब जान सक्ने अवस्था पनि छैन। यहाँ बच्चाहरू भोकले आत्तिएका छन्।”

छविराम पोख्रेलको परिवार पनि तीन दिनदेखि सडकमा छ। गाउँ पूरै जलमग्न भएपछि पोखेरेल र उहाँका छिमेकी ज्यान जोगाउन सडकमा आएका हुन्। “बाढी गाउँ पसेपछि ज्यान जोगाउन बस्तुभाउसहित सडकमा आयौँ”, उनले भने, “पहिल्यै बाढी आउन सक्छ भनेकाले भाग्न सक्यौँ, घर कुन अवस्थामा छ थाह छैन।”

बाढी आएका कारण भजनी–३ की गीता बजगाईं साना बच्चाका आमा र गर्भवतीलाई कठिन भएकाले सहयोगीलाई सहयोग गरिदिन आग्रह गर्छिन्। “गर्भवती तथा बच्चामा आमा समस्यामा छन्,” उनले भनिन्, “पानी मात्र खाएर बच्चाले कहाँ मान्छन्? रकम भएकाले चाउचाउ, चिउरा मगाएका छन्, बच्चाहरूले खान मानेका छैनन् ।”

वडा नं ३ कै रतरानीदेवी चौधरी बाढी आएपछि हुलाकी सडकमा बसिरहेकी छन्। उनको दुई वर्षको बच्चासहित दुई बच्चा साथमा छन्। उनी बच्चासहित सडकमा भुइँमै बसेकी छन्। रतरानीदेवीलाई बच्चाले निकै सताएको छ। “भुइँमा दुई रात सुतियो, दुई बच्चा छन्, घाम, पानी र लामखुट्टेले सताए,” उन भनिन्, “भोकभोकै, बच्चाको पीडा, सडकको बास दुई वर्षजस्तै भएको छ।”

त्यसैगरी भजनी नगरपालिका–८ का खेमराज जैसी र उनका छिमेकी पनि घर छोडेर सडक र आफन्तकहाँ आश्रय लिइरहेका छन्। बाढी प्रभावित बस्तुभाउसहित सडकमा बसिरहेका छन्। 

काढाढिककै सपना विकको १२ जनाको परिवार पनि बाढीका कारण सडकमै छ। उनीहरूले पानीबाहेक केही खान नपाएको बताउँछन्। “सरकारले कहिले बुझ्ला हाम्रो समस्या ?” उनी भन्छिन्, “हरेक वर्ष बर्खामा हाम्रो बिचल्ली हुन्छ, ठाउँ छोडेर जाने हाम्रो स्थिति छैन, हामीले कस्तो जिन्दगी पाएछौँ ?”

धनसरादेवी जैसी तीन दिनदेखि आफन्तका घरमा बसिरहेका बताउँछन्। उनी छिमेकीले बोकेर उद्धार गरेको, पानीबाहेक केही खान नपाएको गुनासो गर्छन्। विस्थापितमध्येकै भीमबहादुर विश्वकर्मा सडकको बास निकै कठिन भएको, खाद्यान्न बोक्न नसकिएकाले खान बस्नको समस्या भएको बताउँछन्। “म मात्र होइन, विस्थापित सबैको समस्या छ”, उनी भन्छन्, “सयौँ परिवार विस्थापित छौँ, सयौँ परिवारकै अवस्था पीडादायी भएको छ।”

भजनीका उद्धारकर्ता खेमराज पाण्डे विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बढी समस्या भइरहेको बताउँछन्। “गर्भवती, सुत्केरीले खान पाउनुभएको छैन,” उनी भन्छन्, “पानी सम्मको व्यवस्था भएको छ। अब पालिकाले उहाँहरूलाई सुरक्षित सेल्टरमा लैजाने तयारी हुँदैछ।”

भजनी नगरपालिकाको स्वास्थ्य शाखाले विस्थापित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन थालेको छ। स्वास्थ्यकर्मी सुरज केसीले प्रभावित क्षेत्रमा नागरिकलाई रुघाखोकी, झाडापखाला, खुट्टा पाकेका, एलर्जीको समस्या देखिएको बताए। “जहाँ जहाँ विस्थापित बसेका छन्, त्यहाँ हामीले शिविर स्थापना गरेर उपचार थालेका छौँ,” उनले भने, “स्वास्थ्यकर्मी औषधिसहित खटेका छौँ।”

भजनी नगरपालिकाका प्रमुख केबल चौधरी बाढी प्रभावितलाई सहजताका लागि उद्धारसँगै, उच्च स्थानमा बसोबासको व्यवस्था मिलाउने, खाना, पानीको व्यवस्था भइरहेको बताउँछन्। “सयौँ परिवार विस्थापित भएका छन्, हरेक वर्ष बाढीले यस्तो समस्या निम्त्याउँछ”, उनी भन्छन्, “सहयोगी संघसंस्थाको साथ लिएर प्रभावितलाई उद्धार र राहत दिने कार्य थालेका छौँ। सबैको पीडामा हामी मलहम लगाउने कोशिशमा छौँ।”

बाढीबाट प्रभावित तथा विस्थापितलाई टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले पनि तयारी खाना, पानीको व्यवस्था गरेका छन्। यी पालिकामा भएका विस्थापितलाई सामूहिक ‘मेस’ चलाएर खाना खाने व्यवस्थालगायतका कार्यपालिकाबाट भइरहेका बताइएको छ।