संरचनागत लाभ पाएका समुदायले यो सामाजिक रोग हटाउन सबैभन्दा बढी भूमिका खेल्नुपर्छ। बेल् हुक्सले भनेका छन्– सबै जातीय हमलाहरूप्रति मौनता साँध्नु अपराधप्रति हाम्रो समर्थनजत्तिकै गम्भीर विषय हो।
सन् १९३१ मा जब अम्बेडकरले पहिलो पटक गान्धीलाई भेटे, गान्धीले अम्बेडकरलाई कांग्रेसको कडा आलोचना गरेकोबारे प्रश्न गरे। त्यस्तो आलोचनालाई उतिखेर स्वराज्यका लागि लडिरहेको संघर्षकै विरोध बराबर मानिन्थ्यो। गान्धीको प्रश्नमा अम्बेडकरले दिएको प्रख्यात जवाफ थियो, ‘गान्धीजी मेरो मातृभूमि छैन। यस भूमिलाई मेरो आफ्नै जन्मभूमि र यो धर्मलाई कसरी मेरो आफ्नै भन्न सक्छु? जहाँ हामी बिराला र कुकुरभन्दा खराब व्यवहार भोग्छौँ, जहाँ हामी पानी पिउन समेत सक्दैनौँ…।’
छुवाछुत, जातिभेद, रङभेद र वर्गभेद समग्र मानव समाजको अभिशाप, अधोगति र पतन हो। मानव विकासको बाधक हो। यस्तो कलुषित सोचलाई हामीलाई प्रत्यारोपण गराउनमा पूर्वज, अग्रज र सिंगो समाज जिम्मेवार देखिन्छन्। हाम्रा धर्मका संस्थापक र हाम्रो संस्कृतिका प्रवर्द्धकहरू यस अर्थमा आलोच्य छन् कि, उनीहरू धर्म संस्थापन, संस्कृति उत्थान र प्रवर्द्धनमा अलिकता सचेत भइदिएको भए आज हाम्रो समाज कमसेकम जातीय विभेद र छुवाछुतबाट यति बिघ्न कलुषित हुने थिएन। मान्छे–मान्छेबीच यत्रो दरार, भेदभाव र वैरभाव हुने थिएन।
हाम्रा अग्रज ऋषिमुनि, ज जसले हाम्रो परम्परामा जुन जात र वर्णको व्यवस्था प्रतिपादन गरे, त्यो आज विषाक्त भएको छ। मानव विकास र सभ्यतालाई लज्जित बनाउँदै छ। धर्म र सम्प्रदायकै कारण अन्यत्रसमेत लाखौँ–करोडौँ मारिएका छन्, मारिँदै छन्। तर हाम्रोमा जात व्यवस्थाले आफ्नै समुदायका व्यक्तिलाई समेत ‘तुच्छ’ मान्दै तीमाथि अपराध र अत्याचार गरेका छन्। हामीलाई हाम्रा विविध धर्मग्रन्थ सभ्यताका स्मारक हुन् भन्ने लाग्छ, तर तिनै कृतिहरूमा टेकेर आजका दिनसम्म पनि विभेद र अत्याचारलाई 'न्यायोचित' ठहर्याउने दुष्प्रयास गरिएको छ। सयौँ-हजारौँ वर्ष पुराना कृतिहरू यसरी समाजलाई विभाजित गर्न, कलुषित पार्न र मान्छे–मान्छेमा भेदभाव ल्याउने स्रोत बनिरहेका छन्।
तिनै पुस्तकमा पुरुषलाई देवसमान र महिलालाई ‘पापिनी’ र ‘अलच्छिन’ करार गरिएका छन्। पुरुष मर्दा महिलाको सबै कुरा गुम्ने, लोग्नेको मृत्युपछि शृङ्गार गर्न नहुने र राता लुगा लगाउन नहुने सन्दर्भ पनि धार्मिक पुस्तकहरूमा उल्लेख छन्, जबकि विदुर पुरुषहरू सधैँ 'चोखा र पुनीत' मानिन्छन्।
हाम्रा युवाहरू भट्टी र रेस्टुरेन्टमा ‘बफ र बिफ र रक्सी’को पार्टी गर्छन् तर, घर फर्केपछि चोखोनितोको ढोँग रच्छन्, जनै र धोती कछाडमा बेरिन्छन्। पूजाआजा र कर्मकाण्डमा दलित प्रवेश हुनबाट रोक्छन्। अनि यो आफ्नो घरको निजी मामला भएको भन्दै विभेद र अत्याचारमा रप्फु भर्छन्।
बाल्यकालको अनुभव यहाँ बाँड्न सान्दर्भिक लाग्यो। धेरै वर्ष पहिले हामीकहाँ लुगा सिलाउन एक सूचिकारका जोडी आउने गर्थे। उनीहरूसँगै तिनका बच्चा पनि हुन्थे। उनीहरूको कामका लागि आँगनमा एउटा अलग्गै सुकुल ओछ्याइन्थ्यो। उनीहरू त्यहीँ बसेर दिनभरि लुगा सिएर बेलुकी पख घर फर्कन्थे। तर हामीलाई ती बच्चासँग खेल्न अनुमति थिएन। ती बच्चाहरू सुकुलको साँघुरो चौघेरामा दिनभित्र थुनिन बाध्य हुन्थे। एउटा चन्चले उमेरको बालकसँग कत्रो अत्याचार? कति कठोर जात व्यवस्था!
यो कुरा सम्झँदा अहिले पनि मनमा ग्लानि हुन्छ। घरमा कुकुर र तिनका छाउराहरू थिए। सुकुलमा बसेका बच्चाहरू ती छाउराहरूसँगै सुकुलमा सँगै बस्थे र बेलाबेला खेल्थे। ती कुकुरहरू घरी हामीहरूसँग पनि खेल्थे। मौका पाए भने घरभित्र पनि पुग्थे। कुकुरले हाम्रो खाजा र पानी छुँदा कसैलाई मतलब हुँदैनथ्यो। तर सूचिकार परिवारले हाम्रो खाजा र पानी छुन पुगे हामीले त्यो खाजा फाल्नुपर्थ्यो। हामीलाई सुन चोबलेको पानी छरिदिन्थे।
दिदीबहिनी र आमा महिनावारी हुँदा उहाँहरूलाई पनि अछुत करार गरिन्थ्यो। हाम्रो परिवार र समाजमा यस्तो छुवाछुतमा झनै कठोर व्यवस्था थियो। नुहाएर र जनै फेरेर सुनपानी छर्केपछि मात्र ‘शुद्ध’ भइन्थ्यो। एक पटक त माघ महिनाको याम थियो। एकै दिनमा पाँच पटकसम्म आफ्नै दिदीलाई 'छुँदा' खोलाको चिसो पानीमा नुहाएर कठ्याङ्ग्रिएको अनुभूति अझैँ बिर्सन सकेको छैन।
शिशुकालको अर्को स्मृति उल्लेख गरौँ। हामी त्यस्तो पाठशालामा पढ्थ्यौँ, जहाँ दलितबाहेक सबै जात र वर्गका विद्यार्थी सँगै बसेर पढ्थे। हाम्रा विद्यालयका सबै शिक्षकहरू ब्राह्मण जातिका थिए। विद्यालय पुग्नेबित्तिकै सबै विद्यार्थीले उनीहरूको खुट्टा ढोग्नुपर्थ्यो। नढोग्दा पिटाइ खाइन्थ्यो। शिक्षकदेखि विद्यार्थीसम्म स्कुलमा ब्राह्मणहरूकै आधिपत्य थियो।
एक दिन एक बाहुन छात्र र अर्को तामाङ छात्रबीच कक्षामा झगडा पर्यो। ब्राह्मण विद्यार्थीले तामाङ विद्यार्थीको किताबमा सिसा कलमले केरकार गरेपछि प्रतिक्रिया स्वरूप तामाङ विद्यार्थीले कोर्नेको सिसा कलम चौरमा मिल्काइदिए। यति भएपछि ब्राह्मण बालक बेस्सरी रुन थाले। एकै छिनमा कक्षाका शिक्षक आएर 'तँ तल्लो जातकोले ब्राह्मण बच्चासँग झगडा गर्ने हो?' भन्दै तामाङ बच्चालाई निगालाका लट्ठीले कुट्नसम्म कुटे। त्यस घटनापछि कसैले पनि ब्राह्मणका बच्चाहरूसँग जोरी खेल्ने साहस गरेनन्।
आज पुस्तक र कानूनका धेरै विभेद हटेका छन्। तर पढाइले मात्र मान्छेको जीवनमा रूपान्तरण ल्याउँदैन, ल्याउन सक्दैन। हजारौँ वर्षदेखि मनमस्तिष्कमा जरो गाडेको विचार त्यत्तिकै फाल्न पटक्कै सहज छैन। हाम्रा विद्यालयमा जातपात र छुवाछुतप्रतिको अवधारणा गलत हो भनेर पढाउन थालिएको छ, तर घर व्यवहारमा जात व्यवस्था ज्युँदै छ। पाठ्यपुस्तकमा लेखिएको छ, तर व्यवहारमा अझै उत्रन सकेको छैन। त्यसको मूल कारण, शिक्षकहरू अझै पनि विभेद गर्ने समुदायकै बढी छन्। उनीहरू सतही रूपमा पाठ पढाउँछन्, किनकि उनीहरू स्वयं जात व्यवस्थाको भाइरसले अझै ग्रस्त छन्। सहज ठाउँमा जातीय विभेदको व्यवहार गरिहाल्छन्।
संविधान या कानूनमा जे लेखिए पनि मान्छेको मानसपटलबाट जातप्रथाको कुविचार नहराउँदासम्म भेदभावको जरा भाँचिँदैन। ती जरा हाम्रा धार्मिक तथा ऐतिहासिक ग्रन्थ, सांस्कृतिक परम्परा, प्रणाली र जीवन पद्धतिमा गहिरोसँग जोडिएका कारण भाँच्ने चुनौती हत्तपत्त कसैले लिँदैन। जसले जे भने पनि विवाह, व्रतबन्ध, पूजाआजा, उत्सव र समारोहमा दलितहरूको उपस्थितिलाई अहिलेसम्म तथाकथित ठूलो जातले स्विकारेको छैन। बरु प्रायशः वर्जित नै छ। दलितले पूजा सामग्री छुने कुरालाई अहिले पनि ठूलो धार्मिक त्रुटिका रूपमा लिन्छ रुग्ण समाज।
प्रकाश सपुतजस्ता चर्चित गायकहरूले 'दमाईं महाराज'को कल्पना गरेर गीत गए पनि एकाध अपवादबाहेक कुनै पनि मन्दिरमा अहिलेसम्म दलित पुजारी छैनन्। बोका, राँगा र कुखुराहरू मन्दिरभित्र लगिन्छ, तिनका रगत मूर्तिहरूमा सेचन गरिन्छ भने मान्छेले त्यहाँ प्रवेश पाउँदैन। यस्तो नीच अभ्यासविरुद्ध विरलै धार्मिकजनहरू बोल्छन्। धार्मिक संस्थाहरू देशलाई ‘आफ्नै धर्म सापेक्ष राष्ट्र’ बनाउने विषयमा त्रिशूल जुलुससमेत निकाल्न तयार छन्, तर दलन र विभेदको मुद्दाले यिनलाई छुँदैन।
हाम्रा पौराणिक कृतिलाई अझै पनि देववाणीका रूपमा लिइन्छ। हाम्रा जातीय अवधारणाका प्रमुख स्रोत स्तोत्र र सूत्र भनिएका वेद, पुराण, संहिता र स्मृतिहरू हुन्। तर ती पुस्तक र पुस्तक सिर्जित गलत अभ्यासविरुद्ध धार्मिक गुरुहरू बिरलै बोल्छन्। बोल्दासमेत पुस्तकका गलत तर्कलाई ढाकछोप गर्न खोज्छन्। धार्मिक पुस्तक नै गलत ठहरिएला भन्ने तिनको चिन्ता हुन्छ। दलनमा पर्नेहरूप्रति उनीहरू संवेदनशील हुँदैनन्।
हाम्रो समाजमा विद्यमान जातिप्रथा या वर्ण व्यवस्था ऋग्वेद कालदेखि नै सुरुवात भएको कुरा ऋग्वेदको पुरुष सूक्तबाट थाहा हुन्छ। जसमा लेखिएको छ: ब्राह्मण भनेको मुख हो, छेत्री दुई हात हुन्, वैश्य दुई तिघ्रा हुन् भने शूद्र दुई पाउ हुन्। कतिपय शास्त्रमा दलितलाई चार जातभन्दा पनि तल गिराएको देखिन्छ, जसलाई अवर्ण भनिन्थ्यो।
मनुस्मृति अध्याय २ को ३१ श्लोकमा लेखिएको छ– ब्राह्मणले मंगल सूचक जनाउँछ, क्षेत्री जाति शक्तिसँग सम्बन्धित छ, वैश्य सम्पत्तिसँग जोडिएको छ भने शूद्र तुच्छ र नीच भनेर मानिएको छ। मनुस्मृतिको अध्याय ८ श्लोक ४१७ मा लेखिएको छ– शूद्रले सम्पत्ति राख्न पाउँदैन, शुद्धले सम्पत्ति राख्ने कुरा ब्राह्मणको लागि लाभदायक हुँदैन। त्यसैले ब्राह्मणले उसको सम्पत्तिमाथि हस्तक्षेप गर्न सक्नेछ।
नेपाली इतिहासमा वर्ण व्यवस्था लिच्छविकालबाट शुरू हुँदै क्रमशः मल्ल, शाह र राणाकालसम्ममा निकै मजबुत भएर आएको देखिन्छ। अनि पञ्चायती शासन व्यवस्थामा पनि यसमाथि केही बहस र संविधानमा समानताको पक्षमा केही उल्लेख भए पनि झन्डै आजैसम्म जातिप्रथा समाजमा देखिने गरी कायम छ। दलित समुदायको कुनै युवकले हाम्रो सामाजिक न्याय व्यवस्थाबारे प्रश्न उठाउँदा त्यहाँ प्राप्त हुने प्रतिक्रियामा पनि दलनका दागहरू प्रकट हुन्छन्।
अहिले पनि दलितले माथिल्लो भनिने जातिका व्यक्तिसँग प्रेम या वैवाहिक सम्बन्ध राख्न खोज्दा कुटाइ खानुपर्छ, ज्यानै गुमाउनुपर्छ। बाँचे पनि समाजबाट बहिस्कृत हुनुपर्छ, गाउँघर छाड्नुपर्छ। काठमाडौँमा डेरा पाउन दलित वर्गलाई धेरै गाह्रो पर्छ। दुई वर्षअघिको रूपा सुनुवार प्रकरण अझै बिर्सिइसकेको छैन। अन्तरजातीय विवाहमा ज्यान मार्ने धम्की दिने, ज्यानैसमेत लिएको कुरा हामीले सुन्दै, पढ्दै आएका छौँ।
जातप्रथा अज्ञानताबाट सिर्जित रोग हो। यसको उपचार शिक्षा, जागरण, चेतना विस्तारका साथै निर्मम कानून निर्माण र कार्यान्वयन हो। यसलाई निर्मूल पार्न हाम्रो विद्यालयको पठनपाठनमा व्यापक रूपान्तरण आवश्यक छ। त्यसका लागि विद्यालय या कलेजका शिक्षकहरू सुशिक्षित हुनुपर्छ। सामाजिक जटिलता बुझ्ने र वैज्ञानिक विचार बोक्ने हुनुपर्छ। रूढिवाद, कुप्रथा या कुसंस्कृतिबाट मुक्त हुनुपर्छ। र हाम्रा शिशुहरूले कमसेकम विभेद गलत हो, जातीय विभेद अवैज्ञानिक र अमानवीय हो भन्ने ठहर गर्नेछन्। शिक्षकहरूलाई प्रगतिशील बनाउने गरी राज्यले प्रशिक्षित गर्न आवश्यक छ।
त्यससँगै राज्यले दलनमा परेका समुदायका लागि सकारात्मक विभेद र समावेशी व्यवस्थालाई झनै वैज्ञानिक बनाउन पनि आवश्यक छ। गैरदलित समुदायका सचेत वर्गले जातप्रथाविरुद्ध निरन्तर आवाज उठाइरहनु समेत पर्छ। अवसर पाएका र पहिलेदेखि नै संरचनागत लाभ पाएका समुदायले यो सामाजिक रोग हटाउने सन्दर्भमा सबैभन्दा बढी भूमिका खेल्नुपर्छ। बेल् हुक्सले भनेका छन्– सबै जातीय हमलाहरूप्रति मौनता साँध्नु अपराधप्रति हाम्रो समर्थन जत्तिकै गम्भीर विषय हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
