सीआईबीले बिहीबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासँगै थप १४ जना डाक्टरलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासँगै थप १४ जना डाक्टरलाई पनि पक्राउ गर्ने तयारी गरेको खुलेको छ।
शर्मासहित डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पक्राउ परेका छन्। सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले १५ जनालाई नै पक्राउ गर्ने तयारी भए पनि अरू पक्राउ परिनसकेको उकालोलाई बताइन्। डा. शर्मा गोल्फुटारस्थित निवासबाटै पक्राउ परेका थिए।
सीआईबीले धेरै पहिलेदेखि नै नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल शिक्षा (एमबीबीएस) अध्ययन गरेका व्यक्तिहरूबारे अनुसन्धान गर्दै आएको थियो। “त्यसक्रममा डा. शर्मासहित १५ जनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबीबीएस अध्ययन गरेको पुष्टि भएपछि हामीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,” एआईजी बज्राचार्यले भनिन्।
सीआईबी स्रोतका अनुसार डा. शर्माले भारतबाट आइएस्सी उत्तीर्ण गरेको सर्टिफिकेट पेस गरेर एमबीबीएस अध्ययन गरेका थिए। अनुसन्धानका क्रममा उनको आइएस्सीको सर्टिफिकेट नक्कली भेटिएको छ।
“अहिले कूल १५ जना डाक्टरको आइएस्सीको सर्टिफिकेट नक्कली वा किर्ते भेटिएको छ,” अनुसन्धानमा संलग्न सीआइबीका एक अधिकृतले भने, “केहीले भारतबाट आइएस्सीको नक्कली सर्टिफिकेट बनाएर एमबीबीएस पढेको भेटिएको छ, केहीले भने नेपालकै प्लस टुको नक्कली सर्टिफिकेट बनाएर डाक्टरी पढेको प्रमाणित भएको छ।”
उनले १५ जनाको सूचीमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत एक चिकित्सक पनि रहेको, उनले पनि नक्कली शैक्षिक प्रमाणपत्रका एमबीबीएस पढेको भेटिएको बताए।
सीआईबी स्रोतका अनुसार ‘अपरेसन फोक्टर (फेक सर्टिफिकेट) चार्ली’ नाम दिएर नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पहिल्याउने पहल गरिएको थियो।
सीआईबीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई जानकारी गराउन लेखेको पत्रमा सांसद शर्मालाई फौजदारी कसुरमा पक्राउ गरिएको जनाएको छ। सांसदलाई पक्राउ गरेपछि सभामुखलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ।
“फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका निज सुनीलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं. ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकाले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनीलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको बेहोरा सादर अनुरोध गरिएको छ,” सीआईबी प्रमुख बज्राचार्यले बिहीबार सभामुख घिमिरेलाई पठाएको पत्रमा भनिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमीमा सांसद शर्माको आईएस्सीको प्रमाणपत्र ‘अपुष्टित’ देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ। “शैक्षिक प्रमाणपत्र प्रमाणीकरणका सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरको च नं. १ मिति २०७९/०४/०५ गतेको पत्रबाट १९९६ सालमा रोल कोड ६५०४, रोल नं. १०११७, आईएस्सी तहको सुनीलकुमार शर्माको कैफियतमा अपुष्टित भनी लेखी आएकोले उक्त कसुरमा संलग्न जिल्ला मोरङ क्षेत्र न. ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तर्फको निर्वाचित सांसद सुनिलकुमारमा शर्मालाई पक्राउ गरिएको,” पत्रमा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
