‘अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा राष्ट्रिय सुरक्षा गम्भीर बन्यो’

प्राडा. खड्ग केसीले अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताएका छन्।

काठमाडौँ– नेपालमा अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताइएको छ। बिहीबारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै प्राडा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका हुन्।

“काठमाडौँमा जति अमेरिकन र चाइनिजहरूको भ्रमण बाक्लिएको छ, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध त्यत्ति नै गम्भीर छ भन्ने कुरा हाम्रो राष्ट्रिय सुरक्षा त्यत्ति नै गम्भीर बन्दै गएको छ,” उनले भने।

उनले राजनीतिक नेतृत्व इमानदार भएर काम गर्न नसकेको आरोप लगाए। भूगोल, सीमा नक्साबारे सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गर्दै उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा सबै राजनीतिक दलहरू एक हुनुको विकल्प नरहेको बताए। “परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा यसरी नै जहिल्यै पनि उभिनुपर्छ। योभन्दा अर्को विकल्प छैन,” उनले भने।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौदीले राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पुर्‍याउन नागरिकता दिने कुराले पनि भूमिका खेलेको बताए। उनले नागरिकता सहजै उपलब्ध गराउने कुराले नेपालको राष्ट्रिय सुरक्षामा कति असर गर्छ भनेर सोच्न जरुरी रहेको उल्लेख गरे।

“कतै हाम्रा नेतृत्व गर्ने मान्छे, सरकारमा जाने, सरकारका निकायका विभिन्न तहमा बस्ने मानिस मुलुकलाई असफल बनाउन तस्करीका खेल बनाएर विश्वमै असफल राष्ट्र बनाउन खोजेका त छैनन्?” उनले भने।

समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएकाले सबैभन्दा पहिला नागरिकलाई दिएको नारा पूरा गर्न लाग्नुपर्ने बताए। नागरिकलाई दिएको वाचा पूरा गर्न नसके बाह्य मात्रै नभई आन्तरिक रूपबाट पनि देश कमजोर बन्ने उनको भनाइ थियो।

उनले अमेरिका, भारत र चीनको हस्तक्षेपको स्थिति बाझिनु नेपालको राष्ट्रिय सुरक्षाको चुनौतीका रूपमा रहेको उल्लेख गरे।