मोरङ–३ (१) मा आज मनोनयन दर्ता

कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त दलका लागि मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ। 

काठमाडौँ– निर्वाचन आयोगले मोरङ–३ को प्रदेशसभा (१) मा बिहीबार मनोनयन दर्ताकाे कार्यक्रम तय गरेकाे छ।

यसअघि कांग्रेसबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आयोगले उक्त दलका लागि मनोनयन दर्ताकाे समय दिएकाे हाे। 

बिहान १० देखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। त्यसपछि दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक लगायतका प्रक्रिया सकेर शुक्रबार दिउँसो ४ बजे निर्वाचन चिन्ह प्रदान गर्ने आयोगका उपसचिव ऋषिराम भूसालले बताए।

मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्थामा उक्त क्षेत्रबाट प्रदेशसभाका उम्मेदवार थापाको मृत्यु भएकाले सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने भूसालले बताए।