भजनी र टीकापुरमा डुबान: खोइ दीर्घकालीन समाधान?

कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकामा बाढी र डुबानको जोखिम उच्च छ। भजनीमा मात्रै एक हजार ८२२ परिवार विस्थापित भएका छन्। 

भजनी– बाढी र डुबानबाट कैलालीमा वर्षेनी अत्यधिक क्षति हुने गरेको छ। त्यसमध्ये बढी प्रभावित गाउँ हुन्, भजनी र टीकापुर। भजनीसासी वर्षात्को समयमा रातभर जागा बस्न बाध्य छन्।  

“बर्सेनि बाढीले विस्थापित बनाउँछ। दुई–तीन महिना सडकमै बास हुन्छ,” स्थानीय सुरेन्द्र चौधरी भन्छन्, “बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ।” सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ। 

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेला मात्रै दिइने सान्त्वनाले  समस्या समाधान नहुने बताउँछन्। बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ। “बाढीका कारण खेत बाँझो राख्नुपरेको छ। लगाएको खेती भित्र्याउन पाइन्न। कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ,” चौधरीले भने, “सरकारले खोइ त बाढी र डुबानको दीर्घकालीन समाधान ल्याएको?” 

विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन्। “बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ। पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ,” स्थानीय रीता बोहराले भनिन्। भजनी नगरपालिकाका प्रमुख केवल चौधरी बस्ती डुबानमा पर्नुका विविध कारण रहेको बताउँछन्। “भजनीलाई चारैतिरबाट नदीले घेरेको छ। बाढीबाट जोगाउन उचित काम हुन नसक्दा डुबानमा पर्ने गरेको छ,” उनले भने, “भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ।”

हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको कैलाली– ३ की सांसद गंगा चौधरीले बताइन्। पानीको निकास नहुँदा तथा  जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उनको भनाइ छ। हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताइन्। 

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ। आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्तीमा पसेको हो। आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताए। यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार ८२२ घरपरिवार विस्थापित भएका छन्। दुई घर बाढीले बगाएको छ।

एक दशकपछि अत्यधिक वर्षा 
कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी  वर्षा भएको छ। वर्षा मापन केन्द्र चिसापानीका अनुसार यही साउन २३ गते बिहान ४२४.२ मिलीमिटर वर्षा मापन गरिएको छ। यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने वर्षा मापन केन्द्रकी कर्मचारी पार्वती गुरुङले बताइन्। 

बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ। डुबान हुँदा हजारौँ नागरिक  प्रभावित भएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन्। कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन्। बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन्। 

कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दुःख दिने गरेको छ।