करिब दुई करोड ६० लाख रुपैयाँमा दुई वर्ष पहिले निर्मित रामायण भवनको उचित संरक्षण हुनसकेको छैन। शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत भत्किएको छ।
तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ। हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गर्न लागिएको हो।
भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो। नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका आदिकवि आचार्यको सम्मानमा आफूहरूले देश तथा विदेशमा रहेका व्यवसायीबाट रकम उठाएर भानुभक्तकालीन घर बनाउन लागेको विकास मञ्चका संस्थापक अध्यक्ष तथा भानुभक्त घर निर्माण समितिका संयोजक रामकाजी कोनेले जानकारी दिए।
“हामी आफ्नै सक्रियता र व्यवसायीबाट जुटेको सहयोगबाट भानुभक्तकालीन घर बनाउने निष्कर्षमा पुगेका छौँ,” उनले भने। आचार्यको जन्मघरकै स्वरूपमा अर्को घर निर्माण नगरिएसम्म नेपाली साहित्यको सम्मान नहुने कोनेको भनाइ छ। उनले भने, “अब घर निर्माण ढिला गर्न हुँदैन। विभिन्न दाताबाट केही रकम जुटिसकेको छ। चाँडै घर निर्माण थाल्छौँ।”
घर निर्माणका लागि करिब रु एक करोड खर्च हुने मञ्चले जनाएको छ। घरको भित्री भाग सिमेन्ट र रडबाट निर्माण हुनेछ। एक वर्षभित्र नै सक्ने गरी निर्माण गरिने भूकम्पप्रतिरोधी उक्त दुईतले घरको बाहिरी आवरण भने परम्परागत र भानुभक्तकालीन शैलीको रहने छ। भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरको बाँकी रहेको ढुंगाको गाह्रोलाई भने सोही अवस्थामा तारबार गरी संरक्षण गरिने संयोजक कोनेले जानकारी दिए। हाल रहेको भग्नावशेष घरको पछाडि नयाँ घर निर्माण गरिने छ।
“आदिकविको जन्मघर दुरुस्तै हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ,” कोनेले भने, “भानुभक्तकालीन त्यही घर र घरको भग्नावशेष हेर्न देश तथा विदेशबाट पर्यटक आउने विश्वास छ।”
मञ्चले २०७३ सालमा ६८ लाख रुपैयाँ लागतमा उक्त घर बनाउन शिलान्याससमेत गरेको थियो। हाल सोही डिजाइनलाई केही परिमार्जन गरी घर बनाउन लागिएको हो। तर आगलागी र संरक्षण अभाव देखिएकाले त्यस समय आफूहरूले घर बनाउने काम रोकेको संयोजक कोनेले बताए। भानुजन्मस्थल विकास समितिले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने क्रममा करिब एक लाख १० हजारको लागतमा आचार्यको जन्मघर पुनः निर्माण गरेको थियो।
२०६० सालमा भानु सामुदायिक वनमा आगलागी हुँदा खरको छानो रहेको उक्त घर जलेर नष्ट भएको थियो। आगलागी हुनुअघि नै आदिकवि आचार्यले प्रयोग गर्ने मसी दानी, विभिन्न रचनाका पाण्डुलिपि, भाँडावर्तन, ओदान, ठेकी, मदानी, भोटेताल्चालगायतलाई भानुजन्मस्थल विकास समितिको हाताभित्र संरक्षण गरी राखिएको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए।
“आदिकविको घर हेर्न आउनेहरू भग्नावशेष देखेर खिन्न भएर फर्किने अवस्था छ,” उनले भने, “अब घर बनेपछि साहित्यिक पर्यटक बढ्ने विश्वास लिएका छौँ।”
भानुजन्मस्थल विकास समिति मातहात कार्यालय परिसरमा चार रोपनी र स्थानीय पुरनडिहीमा १४ रोपनी तथा भानुभक्तको जन्मघर शिखरकटेरीमा करिब ५० रोपनी गरी कुल ६८ रोपनी क्षेत्रफल जग्गा छ। नेपाल सरकारले शिखरकटेरीमा करिब दुई करोड ६० लाख लागतमा दुई वर्ष पहिले निर्माण गरेको रामायण भवनको समेत उचित संरक्षण हुनसकेको छैन। शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत केही स्थानमा भत्किएको छ।
आदिकविको जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आर्थिक उन्नतिको लक्ष्य राखिएको भानु नगरपालिकाले जनाएको छ। “भानुभक्त कालिन घर बनाउन विकास कोष अग्रसर हुनुलाई सकारात्मक रूपमा लिएका छौँ,” नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले भने, “आगामी दिनमा भानु जन्मस्थलको व्यापक प्रचार गरी देश, विदेशका साहित्यकारलाई यो थलोमा जमघट गराउने योजनामा जुट्छौँ।”
बुबा धनञ्जय र आमा धर्मावतीको कोखबाट १८७१ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। हजुरबुबा श्रीकृष्ण आचार्यबाट संस्कृत शिक्षा पाएका आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा उल्था गरी सबै नेपालीलाई भाषिक एकतामा जोडेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
