डेंगीबाट चितवनमा १ पुरुषको मृत्यु, ५३ जनामा संक्रमण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का डेंगी संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

चितवन– डेंगी संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी बिरामी भई साउन २३ गते अस्पताल भर्ना भएका थिए। 

२०८०/८१ मा डेंगीको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो। जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगीको संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए। ५३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो। 

संक्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना छन्। चितवनका ३० जनामा डेंगीको संक्रमण देखिएको छ। गत आर्थिक वर्षमा डेंगीका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो। 

कैदीबन्दीमा आँखा पाक्ने समस्या  
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ। क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ।

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ। चार दिनदेखि समस्या देखिन थालेको हो। क्रमशः संक्रमण फैलँदै गएको उनले जानकारी दिए। संक्रमितलाई छुट्टै कोठामा राखिएको छ। 

उनीहरूलाई आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले जानकारी दिए। कारागारको क्षमता २५५ पुरुष र २५ महिलाको रहेको छ। हाल कारागारमा ७१३ पुरुष र ४७ महिला कैदीबन्दी छन्। यसैगरी, आश्रित पाँच बालबालिका छन्। 

जिल्लामा आँखा पाक्ने समस्या बढेर गएको छ। जसका कारण शिक्षण संस्था बन्द छन्। भिडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ। भरतपुर आँखा अस्पतालमा बिरामीको संख्या झन्डै दोब्बर पुगेको छ। 

बिरामी बढेपछि सहज रूपमा औषधिसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ। आँखा पाक्न शुरू गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ।